
हरेक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदैछ । कामको चटारोले थकित भएका किसानले शक्ति प्राप्तिका लागि दही चिउरा खाने चलन छ ।
गर्मी र खेतीपातीको कामको बेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा लिइन्छ । खेतीपातीबाहेक अरु पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् ।
यस्तै २०६२ सालदेखि असार १५ लाई राष्ट्रिय धान दिवसका रुपमा मनाउन थालिएको हो । कृषिप्रधान देश भएकाले नेपालका धेरै मानिसको पेसा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् ।
आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । असारमा एकपटक हिलोमा पस्नैपर्ने मान्यता पनि नेपालीमा समाजमा रहेको छ । यस वर्ष असार मध्यसम्म पनि देशका सबै ठाउँमा पर्याप्त मात्रामा वर्षा नभएका कारण हुनुपर्ने जति रोपाइँ हुनसकेको छैन । कति ठाउँमा रासायनिक मलको पनि अभाव छ ।
कृषि, वन तथा पर्यावरण मन्त्रालयले भने पर्याप्त मात्रामा रासायनिक मलको मौज्दात रहेको जनाएको छ ।

बाजुरा, १४ असार ।
बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका वडा नं. २ मा ‘आमा पहिलो’ कार्यक्रम अन्तर्गत छुटेका बाँकी ४०० भन्दा बढी घरधुरीका आमाहरूलाई खाद्यान्न सहयोग गरिएको छ। आइतबार एक विशेष कार्यक्रमका बीच वडाका भुकाहाँ, बेर्मा र माझगाउँका रैथाने तथा लक्षित परिवारका आमाहरूलाई जनही ५० किलोग्रामका दरले चामल वितरण गरिएको हो।
गाउँपालिकाको गौरवको योजनाका रूपमा रहेको ‘आमा पहिलो’ कार्यक्रम अन्तर्गत यसअघि नै विभिन्न वडामा खाद्यान्न वितरण गरिसकिएको थियो। वडा नं. २ मा प्राविधिक तथा अन्य कारणले छुट्न पुगेका परिवारहरूलाई समेट्दै आइतबार दिउँसो पालिकाले घरदैलोमै पुगेर चामल हस्तान्तरण गरेको हो।
गाउँपालिकाका अध्यक्ष भरत बहादुर रोकायाले खाद्यान्न वितरण गर्दै पालिकाभित्रका कुनै पनि आमाहरू पोषण र खाद्यान्न अभावबाट पीडित हुन नपरोस् भन्ने उद्देश्यले कार्यक्रम ल्याइएको बताउनुभयो।
”हाम्रो पालिकाका आमाहरूको स्वास्थ्य र पोषण हाम्रो पहिलो प्राथमिकता हो। कोही पनि आमा नछुटून् र सबैले स्थानीय सरकार भएको महसुस गर्न सकून् भनेर हामी आफैं गाउँमा पुगेर चामल वितरण गरेका हौं,” अध्यक्ष रोकायाले भन्नुभयो।
पछिल्लो समय गाउँपालिकाले कृषि, स्वास्थ्य र सामाजिक सुरक्षालाई जोड दिँदै आएको छ। चामल पाएपछि स्थानीय भुकाहाँ, बेर्मा र माझगाउँका आमाहरूले खुसी व्यक्त गरेका छन्। ग्रामीण क्षेत्रमा खाद्यान्नको संकट भइरहने समयमा पालिकाले ५० किलो चामल हातमा थमाइदिएपछि स्थानीयहरूले स्थानीय सरकारको यो कदमको निकै प्रशंसा गरेका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) ले देशका विभिन्न प्रदेशमा आगामी दुई दिन भारी वर्षा र मेघगर्जन/चट्याङको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
प्राधिकरणले आइतबार जारी गरेको सूचनाअनुसार जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानका आधारमा असार १६ र १७ गते मधेश, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका धेरै स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षा तथा केही स्थानमा अति भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ। साथै देशका अन्य पहाडी तथा तराई क्षेत्रका धेरै स्थान र हिमाली क्षेत्रका केही स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको उल्लेख गरिएको छ।
प्राधिकरणले लगातारको वर्षासँगै अकस्मात् बाढी, पहिरो, गेग्रान बहाव, नदी कटान तथा डुबान को जोखिम बढ्ने भएकाले विशेष सावधानी अपनाउन आग्रह गरेको छ।
सूचनामा खोल्सा, खोला तथा नदी किनार, पहिरोको जोखिम भएका क्षेत्र र डुबान प्रभावित स्थानमा अनावश्यक आवतजावत नगर्न, सुरक्षित स्थानमा बस्न तथा जोखिमबारे आफूले जानकारी लिई अरूलाई पनि सचेत गराउन अनुरोध गरिएको छ।
यस्तै, तीनै तहका सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवक र सरोकारवाला निकायलाई उद्धार तथा प्रतिकार्यका लागि तयारी अवस्थामा रहन, जोखिमयुक्त सडकमा आवश्यक उपकरण तयारी अवस्थामा राख्न तथा जिल्ला र स्थानीय विपद् व्यवस्थापन समितिसँग समन्वय गरी सतर्क रहन प्राधिकरणले आग्रह गरेको छ।
प्राधिकरणले वर्षा र बाढीसम्बन्धी जानकारीका लागि ११५५, विपद्मा सहयोगका लागि ११४९, नेपाल प्रहरीको १०० तथा सशस्त्र प्रहरी बल नेपालको १११४ हटलाइन नम्बर आवश्यक पर्दा प्रयोग गर्न पनि अनुरोध गरेको छ।
साथै, जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट जारी हुने अद्यावधिक मौसम पूर्वानुमान तथा चेतावनीलाई नियमित रूपमा पालना गर्न पनि सर्वसाधारणलाई आग्रह गरिएको छ।

बाजुरा — हिमाली गाउँपालिकामा आयोजित शिक्षक भलिबल प्रतियोगिताको उपाधि भवानी माध्यमिक विद्यालय, धुलाचौर ले जितेको छ।
हिमाली शिक्षक खेलकुद समितिको आयोजनामा गत शुक्रबारदेखि सुरु भएको प्रतियोगिता आइतबार सम्पन्न भएको हो। भवानी माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित प्रतियोगितामा गाउँपालिकाभित्रका सात विद्यालय र गाउँपालिका कर्मचारीको एक टोली गरी आठ टोली सहभागी भएका थिए।
प्रतिस्पर्धात्मक फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गर्दै भवानी मावि धुलाचौरले प्रथम स्थान हासिल गरेको हो। बडिमालिका माध्यमिक विद्यालय, धिम दोस्रो र हिमाली गाउँपालिका कर्मचारी टोली तेस्रो भएको आयोजकले जनाएको छ।
विजेता टोलीलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै प्रमुख अतिथि हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुल थापा ले खेलकुदले शिक्षकबीच आपसी सम्बन्ध सुदृढ गर्नुका साथै अनुशासन, सहकार्य र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने बताउनुभयो। उहाँले यस्ता प्रतियोगितालाई आगामी दिनमा पनि निरन्तरता दिन गाउँपालिकाको साथ रहने उल्लेख गर्नुभयो।
कार्यक्रममा हिमाली गाउँपालिका शिक्षा समिति सदस्य दल बहादुर मल्ल विशिष्ट अतिथि तथा शिक्षा शाखा प्रमुख पराम पाण्डे अतिथिका रूपमा सहभागी रहनुभएको थियो।
हिमाली शिक्षक खेलकुद समितिका अध्यक्ष मान बहादुर शाही को अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षक रविन्द्रराज उपाध्याय ले गर्नुभएको थियो।
आयोजकका अनुसार प्रतियोगिताले शिक्षक तथा कर्मचारीबीच आपसी सद्भाव, सहकार्य र खेल संस्कृतिको विकासमा सकारात्मक योगदान पुर्याएको छ।

बाजुरा, असार ११ — धूम्रपान, मद्यपान तथा सुर्तीजन्य पदार्थको नियमन तथा नियन्त्रणलाई प्रभावकारी बनाउने उद्देश्यले स्वास्थ्य कार्यालय बाजुराको आयोजनामा हिमाली गाउँपालिकामा एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। बिहीबार हिमाली गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रमसँगै धुलाचौर बजार क्षेत्रमा संयुक्त बजार अनुगमन समेत गरिएको हो।
संयुक्त अनुगमन टोलीले धुलाचौर बजारका २२ वटा किराना तथा खुद्रा पसलमा अनुगमन गरेको थियो। अनुगमनका क्रममा पसल दर्ता नगरी सञ्चालन गरिएका, समयमै नवीकरण नगरिएका तथा नेपाल सरकार आन्तरिक राजस्व विभागको कर–स्टिकर (ट्याग) नभएका सुर्तीजन्य पदार्थ फेला परेका थिए। यस्तै विद्यालय, स्वास्थ्य संस्था तथा अन्य सार्वजनिक स्थलको १०० मिटर वरपर बिक्रीका लागि राखिएका सुर्तीजन्य सामग्रीसमेत भेटिएको टोलीले जनाएको छ।
अनुगमनका क्रममा म्याद सकिएका खाद्य सामग्री र अवैध रूपमा बिक्री वितरणका लागि राखिएका सुर्तीजन्य पदार्थहरू बरामद गरी तत्काल नष्ट गरिएको थियो। विशेषगरी कानुनविपरीत बिक्री वितरण भइरहेका सुर्तीजन्य सामग्रीहरू सार्वजनिक रूपमा जलाएर नष्ट गरिएको स्वास्थ्य कार्यालय बाजुराका अनुगमन संयोजक लालबहादुर खड्काले जानकारी दिनुभयो।
कार्यक्रम तथा अनुगमनका क्रममा सहभागी टोलीले व्यवसायीहरूलाई सुर्तीजन्य पदार्थ नियन्त्रणसम्बन्धी प्रचलित कानुन, पसल दर्ता तथा नवीकरण प्रक्रिया, कर सम्बन्धी व्यवस्था र सार्वजनिक स्वास्थ्यमा सुर्तीजन्य पदार्थले पार्ने असरबारे जानकारी गराउँदै आगामी दिनमा कानुनको पूर्ण पालना गर्न आग्रह गरेको थियो। टोलीले व्यवसायीहरूलाई सम्झाइबुझाइ गर्दै कमजोरी सुधार गर्न र नियमअनुसार व्यवसाय सञ्चालन गर्न सुझाव समेत दिएको थियो।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष गोबिन्द्रबहादुर मल्लले स्वस्थ समाज निर्माणका लागि सुर्तीजन्य पदार्थ नियन्त्रण अपरिहार्य रहेको बताउँदै स्थानीय तह, सरकारी निकाय, व्यवसायी र समुदायबीचको सहकार्यलाई थप प्रभावकारी बनाइने उल्लेख गर्नुभयो। सहभागीहरूले युवापुस्तालाई कुलतबाट जोगाउन र सार्वजनिक स्वास्थ्य संरक्षणका लागि यस्ता अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।कार्यक्रममा हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द्रबहादुर मल्ल, उपाध्यक्ष राजकला सार्की, स्वास्थ्य कार्यालय बाजुराका कुमार न्यौपाने, प्रशान्त जोशी, रुकुमबहादुर थापा, लालबहादुर खड्का, खड्कराज गिरी, घरेलु तथा साना उद्योग कार्यालय बाजुराका मानबहादुर रावल, धुलाचौर बजार व्यवस्थापन समितिका अध्यक्ष हस्तबहादुर मल्ल, नेपाल प्रहरी, पत्रकार तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो।
स्वास्थ्य कार्यालय बाजुराले आगामी दिनमा पनि जिल्लाका विभिन्न स्थानीय तहमा यस्ता सचेतनामूलक कार्यक्रम तथा बजार अनुगमनलाई निरन्तरता दिने जनाएको छ।

कैलालीको लम्कीचुहा नगरपालिका–३ स्थित नेपाली सेनाको सुदूरपश्चिम पृतना अन्तर्गत गोरङ्गे ब्यारेकमा तालिम अभ्यासका क्रममा ग्रिनेड विस्फोट हुँदा एक सैनिकको मृत्यु भएको छ भने एक सहसेनानी घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाका अनुसार बिहीबार बिहान तालिम अभ्यास चलिरहेका बेला ग्रिनेड विस्फोट भएको हो।
विस्फोटमा गम्भीर घाइते भएका सैनिक हिमालविक्रम बिष्टको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। विस्फोटका कारण उनको दाहिने हातको हत्केला उड्नुका साथै शरीरका विभिन्न भागमा छर्रा लागेर गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि लम्कीस्थित लालरत्न अस्पताल पुर्याइएको भए पनि मध्यान्ह करिब १२ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
घटनामा सहसेनानी हिमराज जोशी पनि घाइते भएका छन्। उनको शरीरका विभिन्न भागमा छर्रा लागेको जनाइएको छ। प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको छ। उनको अवस्था खतरामुक्त रहेको बताइएको छ।
दुवै घाइतेलाई बिहान करिब साढे १० बजे लालरत्न अस्पताल लगिएको थियो। घटनाबारे नेपाली सेनाले बिहान पौने १० बजे इलाका प्रहरी कार्यालय चिसापानीलाई जानकारी गराएको थियो।
ग्रिनेड विस्फोट हुनुको कारण खुल्न बाँकी रहेको र घटनाबारे नेपाली सेना तथा प्रहरीले संयुक्त रूपमा थप अनुसन्धान गरिरहेका छन्।

असार १० – बाजुराको बुढीनन्दा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कुल ५७ करोड ६ लाख ९६ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगरसभामा प्रस्तुत बजेटमा विकास निर्माण, सेवा प्रवाह तथा स्थानीय जनताको आवश्यकता सम्बोधनलाई प्राथमिकतामा राखिएको छ।
नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ३७ करोड ९८ लाख ४८ हजार रुपैयाँ चालु खर्चतर्फ तथा १९ करोड ८ लाख ४८ हजार रुपैयाँ पुँजीगत खर्चतर्फ विनियोजन गरेको छ। प्रस्तुत बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सडक तथा पूर्वाधार विकास, सामाजिक सुरक्षा, रोजगार सिर्जना र सुशासन प्रवर्द्धनका कार्यक्रमलाई विशेष प्राथमिकता दिइएको जनाइएको छ।
नगरपालिकाले आधारभूत सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने, कृषि तथा उत्पादनमूलक क्षेत्रको विकास गर्ने, स्थानीय स्रोत–साधनको अधिकतम उपयोग गर्दै आर्थिक गतिविधि विस्तार गर्ने लक्ष्यसहित बजेट ल्याएको जनाएको छ। साथै, नगरभित्र सञ्चालनमा रहेका विकास आयोजनालाई निरन्तरता दिँदै नयाँ योजनाहरू समेत कार्यान्वयन गरिने बताइएको छ।
नगर प्रवक्ता जंगबीर रोकायाले जानकारी दिँदै आगामी आर्थिक वर्षको बजेट नगरवासीको आवश्यकता, विकासका प्राथमिकता तथा दीर्घकालीन समृद्धिको लक्ष्यलाई ध्यानमा राखेर तयार गरिएको बताउनुभयो। उहाँका अनुसार नगरसभामा प्रस्तुत बजेटमाथि विस्तृत छलफल गरी आवश्यक सुझाव समेटेर कार्यान्वयन प्रक्रिया अघि बढाइने बताउनुभयो।
बुढीनन्दा नगरपालिकाले आगामी आर्थिक वर्षमा विकास निर्माणका कामलाई तीव्रता दिने, सेवा प्रवाहलाई थप सहज र प्रभावकारी बनाउने तथा नगरवासीको जीवनस्तर उकास्ने उद्देश्यका साथ बजेट प्रस्तुत गरेको जनाएको छ।

असार १० मेघराज भट्ट
बाजुरा – स्वामिकार्तिक खापर गाउँपालिकाको १८औँ गाउँसभा अधिवेशनमा आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४४ करोड १६ लाख २ हजार रुपैयाँको बजेट प्रस्ताव गरिएको छ। गाउँपालिकाले विकास निर्माण, सेवा प्रवाहको प्रभावकारिता वृद्धि तथा स्थानीय आवश्यकता सम्बोधनलाई केन्द्रमा राख्दै उक्त बजेट प्रस्तुत गरेको हो।
गाउँसभामा गाउँपालिका उपाध्यक्ष सुलोचना भण्डारीले बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै चालु आर्थिक वर्ष २०८२/०८३ को प्रगति विवरण समेत सार्वजनिक गर्नुभयो। उहाँका अनुसार चालु आर्थिक वर्षका लागि गाउँपालिकाको कुल विनियोजित बजेट ३८ करोड ३ लाख ६७ हजार १ सय ६९ रुपैयाँ रहेको थियो। हालसम्म उक्त बजेटमध्ये २५ करोड २८ लाख ५४ हजार १ सय ७ रुपैयाँ ५१ पैसा निकासा भएको उहाँले बताउनुभयो।
गाउँसभामा प्रस्तुत निकासा भएको रकममध्ये हालसम्म २७ करोड १७ लाख ५४ हजार ४ सय ५५ रुपैयाँ २६ पैसा खर्च भएको छ। विभिन्न विकास निर्माणका आयोजना, सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य, कृषि तथा प्रशासनिक क्षेत्रका कार्यक्रममार्फत बजेट कार्यान्वयन भइरहेको गाउँपालिकाले जनाएको छ।
आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि गाउँपालिकाले आन्तरिक राजस्व, संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय हस्तान्तरण लगायतका स्रोतबाट ४४ करोड १६ लाख २ हजार रुपैयाँ आय हुने अनुमान गरेको छ। सोही बराबरको ४४ करोड १६ लाख २ हजार रुपैयाँ व्यय अनुमान समेत गाउँसभामा पेश गरिएको गाउँपालिका प्रवक्ता सिंह धामीले जानकारी दिनुभयो।
गाउँपालिकाले आगामी वर्षको बजेटमा पूर्वाधार विकास, कृषि तथा पशुपालन प्रवर्द्धन, शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर सुधार, खानेपानी तथा सरसफाइ, पर्यटन विकास, युवा तथा महिला लक्षित कार्यक्रम, रोजगारी सिर्जना र सामाजिक सुरक्षालाई प्राथमिकतामा राख्ने जनाएको छ।
प्रस्तावित बजेटअन्तर्गतका विस्तृत कार्यक्रम, योजना तथा क्षेत्रगत विनियोजनको विवरण गाउँसभाको आगामी बैठकमा प्रस्तुत गरिने बताइएको छ। गाउँपालिका अध्यक्ष भरत बहादुर रोकायाले स्थानीय जनताको आवश्यकता र अपेक्षालाई सम्बोधन गर्दै समृद्ध स्वामिकार्तिक खापर निर्माणको लक्ष्यअनुसार बजेट ल्याइएको बताउनुभयो।
उहाँले आगामी आर्थिक वर्षमा विकास निर्माणका कार्यलाई थप प्रभावकारी बनाउने, सेवा प्रवाहलाई सहज र पारदर्शी बनाउने तथा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र रोजगारका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गर्ने गरी बजेट तथा कार्यक्रम केन्द्रित गरिएको बताउनुभयो।
१८औँ गाउँसभा अधिवेशनमा जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, सरोकारवाला निकाय तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। गाउँसभामा प्रस्तुत बजेट तथा कार्यक्रममाथि छलफल गरी आवश्यक सुझाव संकलन गरिने र त्यसपछि अन्तिम स्वीकृतिका लागि प्रक्रिया अघि बढाइने गाउँपालिकाले जनाएको छ।

बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिकाको दोस्रो गाउँसभा अन्तर्गत १८औँ अधिवेशनले आर्थिक वर्ष २०८३/०८४ का लागि ३८ करोड ६३ लाख १ हजार रुपैयाँ बराबरको बजेट तथा नीति–कार्यक्रम पारित गरेको छ। गाउँसभा अध्यक्ष काली बहादुर शाहीले सभामा बजेट प्रस्तुत गर्दै सामाजिक न्याय, सुशासन, पूर्वाधार विकास, आर्थिक समृद्धि तथा नागरिकमैत्री सेवा प्रवाहलाई केन्द्रमा राखेर बजेट तथा कार्यक्रम तयार गरिएको बताउनुभयो।
पारित बजेटमध्ये चालु तर्फ २३ करोड ६८ लाख १० हजार ५ सय रुपैयाँ र पुँजीगत तर्फ १४ करोड ९४ लाख ९० हजार ५ सय रुपैयाँ विनियोजन गरिएको छ। क्षेत्रगत रूपमा आर्थिक विकासतर्फ ४ करोड ९० लाख रुपैयाँ, सामाजिक विकासतर्फ ११ करोड १२ लाख ६८ हजार रुपैयाँ, पूर्वाधार विकासतर्फ ४ करोड १८ लाख ३२ हजार ५ सय रुपैयाँ, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ ९५ लाख रुपैयाँ तथा कार्यालय सञ्चालन तथा प्रशासनतर्फ १७ करोड ४७ लाख १० हजार ५ सय रुपैयाँ छुट्याइएको छ।उक्त सभामा पालिकामा रहेका बिद्यालयका उत्कृष्ट नतिजा ल्याउने बिध्यार्थीहरुलाई हौसला बढाउन नगद प्रमाणपत्र र खादाले सम्मान गरेको थियो।
नीति तथा कार्यक्रममा न्यायमा पहुँच नपुगेका एकल महिला, दलित, हलिया, खलिया, अपाङ्गता भएका व्यक्ति, हिंसापीडित महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा असहाय नागरिकलाई निःशुल्क कानुनी सहायता तथा परामर्श सेवा उपलब्ध गराइने उल्लेख गरिएको छ। साथै गाउँका युवायुवती तथा कक्षा ८ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरूका लागि विद्यालय र समुदाय स्तरमा कानुनी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने भएको छ।
बालविवाह, छाउपडी, जातीय छुवाछुत, महिला हिंसा, कुरीति तथा विभेद अन्त्यका लागि विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने, जनप्रतिनिधि, कर्मचारी तथा न्यायिक समितिका सदस्यहरूको क्षमता अभिवृद्धि गरिने तथा सामाजिक सुरक्षा प्रणालीलाई थप व्यवस्थित बनाउन आइरिस (Iris) प्रणाली लागू गरिने नीति लिइएको छ। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न छुटेका नागरिकहरूको घटना दर्ता तथा परिचयपत्र व्यवस्थापनका लागि विशेष अभियान सञ्चालन गरिने पनि जनाइएको छ।
त्यस्तै ‘सबैले छोडौँ, नसक्नेलाई जोडौँ’ अभियानमार्फत सामाजिक सुरक्षा भत्तालाई थप प्रभावकारी बनाइने, शान्ति सुरक्षा, भ्रष्टाचार नियन्त्रण, सुशासन र सेवा प्रवाहलाई सुदृढ बनाइने नीति लिइएको छ। सार्वजनिक सेवालाई सरल, छिटोछरितो, पारदर्शी तथा प्रविधिमैत्री बनाउँदै नागरिकका गुनासोको तत्काल सम्बोधन गर्ने व्यवस्था गरिने भएको छ।
कर्मचारी तथा जनप्रतिनिधिको क्षमता विकासका लागि तालिम, गोष्ठी तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने र कार्यसम्पादनका आधारमा पुरस्कार तथा दण्डको व्यवस्था गरिने उल्लेख छ। साथै गाउँपालिकामा कार्यरत कर्मचारीहरूको मासिक तलबमा आगामी साउन १ गतेदेखि १० प्रतिशत वृद्धि गर्ने निर्णय समेत गरिएको छ।
गाउँपालिकाभित्र कार्यरत विभिन्न NGO/INGO मार्फत सञ्चालन हुने कार्यक्रमका लागि ४ करोड ८५ लाख १ हजार ३ सय २४ रुपैयाँ बराबरको बजेट परिचालन हुने जनाइएको छ।
आर्थिक, भौतिक तथा शैक्षिक विकासका लागि विश्व खाद्य कार्यक्रम (WFP), स्थानीय जलवायु अनुकूलन परियोजना (LACC), LI-BIRD, RERAS तथा Global Envirotech Initiative Asia लगायत विभिन्न साझेदार संस्थासँग समन्वय र सहकार्य गरिने नीति समेत पारित गरिएको छ।
गाउँपालिकाका सूचना अधिकारी राजेन्द्र प्रसाद जोशीका अनुसार, गाउँसभाले पारित गरेको बजेट तथा नीति–कार्यक्रमले सामाजिक न्याय, समावेशी विकास, सुशासन, सेवा प्रवाहमा सुधार, पूर्वाधार विस्तार तथा नागरिकको जीवनस्तर उकास्ने लक्ष्यलाई प्राथमिकतामा राखेको छ।

बाजुरा जिल्लाको हिमाली गाउँपालिकाको १८औँ गाउँसभा अधिवेशनले आर्थिक वर्ष २०८३/०८४ का लागि कुल ४३ करोड ६८ लाख ३९ हजार रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ। गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार तथा जनजीविकासँग सम्बन्धित कार्यक्रमलाई प्राथमिकतामा राख्दै बजेट प्रस्तुत गरेको हो।
विनियोजित बजेटमध्ये पूँजीगततर्फ १८ करोड १ हजार रुपैयाँ तथा चालुतर्फ २५ करोड ६८ लाख २१ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। गाउँपालिकाले उपलब्ध स्रोत र साधनलाई प्रभावकारी रूपमा परिचालन गर्दै स्थानीय आवश्यकताअनुसार विकास कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।
बजेटका प्रमुख स्रोतहरूमा संघीय सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान ९ करोड ६१ लाख रुपैयाँ, राजस्व बाँडफाँडबाट १० करोड ३० लाख ८३ हजार रुपैयाँ, पूरक अनुदान २ करोड १५ लाख रुपैयाँ, संघीय विशेष चालु अनुदान १ करोड ८० लाख रुपैयाँ, संघीय विशेष पूँजीगत अनुदान ८८ लाख रुपैयाँ, संघीय सरकारबाट प्राप्त सशर्त चालु अनुदान १२ करोड ५१ लाख रुपैयाँ, सशर्त पूँजीगत अनुदान ४१ लाख रुपैयाँ तथा प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान ७७ लाख रुपैयाँ समावेश रहेका छन्।
गाउँसभामा प्रस्तुत बजेटले शिक्षा, स्वास्थ्य, कृषि, जडीबुटी, पर्यटन, जलस्रोत, पूर्वाधार विकास, रोजगार सिर्जना तथा सामाजिक सुरक्षा लगायतका क्षेत्रलाई प्राथमिकतामा राख्दै समृद्ध हिमाली गाउँपालिका निर्माणको लक्ष्य लिएको गाउँपालिकाले जनाएको छ। आगामी आर्थिक वर्षमा जनमुखी, उत्पादनमुखी र दिगो विकासका कार्यक्रममार्फत स्थानीय नागरिकको जीवनस्तर उकास्ने अपेक्षा गरिएको छ।

