
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको १८औँ गाउँसभा भव्य तथा सफलतापूर्वक सम्पन्न भएको छ। “समृद्ध स्वामीकार्तिक खापर” निर्माण गर्ने दूरदर्शी लक्ष्यलाई केन्द्रमा राख्दै सम्पन्न गाउँसभाले आगामी आर्थिक वर्षका लागि शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, पर्यटन, पूर्वाधार विकास तथा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर नीति, कार्यक्रम तथा बजेटका दिशानिर्देश तय गरेको छ।
गाउँपालिका अध्यक्ष भरत बहादुर रोकायाको नेतृत्वमा सम्पन्न गाउँसभामा चालु आर्थिक वर्षमा गाउँपालिकाले हासिल गरेका उपलब्धिहरूको समीक्षा गर्नुका साथै आगामी दिनमा सञ्चालन गरिने विकास तथा जनसेवामुखी कार्यक्रमहरूबारे विस्तृत छलफल गरिएको थियो। सभामा शिक्षा क्षेत्रमा विद्यालयको गुणस्तर सुधार, स्वास्थ्य क्षेत्रमा आधारभूत सेवाको पहुँच विस्तार, कृषि उत्पादन वृद्धि, स्थानीय रोजगारी सिर्जना, पर्यटन प्रवर्द्धन तथा ग्रामीण पूर्वाधार विकासलाई विशेष प्राथमिकतामा राखिएको जनाइएको छ।
गाउँसभामा प्रस्तुत प्रतिवेदन अनुसार गाउँपालिकाले विगत वर्षहरूमा सडक सञ्जाल विस्तार, खानेपानी, शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रमा महत्वपूर्ण प्रगति हासिल गरेको छ। यद्यपि अझै सम्पन्न हुन बाँकी रहेका केही विकास निर्माणका योजनाहरूलाई आगामी आर्थिक वर्षभित्र क्रमशः पूरा गर्दै जनताको अपेक्षाअनुसार परिणाममुखी विकासलाई अघि बढाइने प्रतिबद्धता व्यक्त गरिएको छ।
सभामा सहभागी जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज तथा सरोकारवालाहरूले विकास निर्माणका कार्यलाई अझ प्रभावकारी, पारदर्शी र जनउत्तरदायी बनाउँदै लैजान सुझाव दिएका थिए। गाउँसभाले विकासलाई केवल भौतिक संरचना निर्माणमा सीमित नराखी नागरिकको जीवनस्तर सुधार, आयआर्जन वृद्धि, गुणस्तरीय सेवा प्रवाह तथा सामाजिक रूपान्तरणको माध्यमका रूपमा अगाडि बढाउने साझा प्रतिबद्धता जनाएको छ।
विशेषगरी युवा तथा महिलाको उद्यमशीलता विकास, स्थानीय उत्पादनको प्रवर्द्धन, कृषि आधुनिकीकरण, खेलकुद पूर्वाधार निर्माण तथा धार्मिक–प्राकृतिक पर्यटनको सम्भावनालाई आर्थिक समृद्धिसँग जोड्ने कार्यक्रमहरूलाई आगामी वर्षका प्रमुख प्राथमिकतामा राखिएको छ। साथै सुशासन, पारदर्शिता र जवाफदेहितालाई संस्थागत गर्दै नागरिकमैत्री सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने लक्ष्य समेत गाउँसभाले लिएको छ।
गाउँसभाले समृद्ध, आत्मनिर्भर र विकासोन्मुख स्वामीकार्तिक खापर निर्माणका लागि सबै पक्षबीच सहकार्य, समन्वय र साझेदारी आवश्यक रहेको निष्कर्ष निकाल्दै आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रमहरू कार्यान्वयनमा दृढतापूर्वक अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।
गाउँपालिकाका सूचना अधिकारी कुमेर शाहीका अनुसार १८औँ गाउँसभा सौहार्दपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न भएको हो। गाउँसभाबाट पारित नीति तथा कार्यक्रमले गाउँपालिकाको समग्र विकास, जनजीवनको गुणस्तर अभिवृद्धि तथा “समृद्ध स्वामीकार्तिक खापर”को दीर्घकालीन लक्ष्य हासिल गर्न महत्वपूर्ण आधार तयार गर्ने विश्वास व्यक्त गरिएको छ।

बाजुरा — हिमाली गाउँपालिकाको १८औँ गाउँसभा अधिवेशन मंगलबार बिहानबाट औपचारिक रूपमा सुरु गरिएको छ। आर्थिक वर्ष २०८३/०८४ का लागि आयोजित गाउँसभा अधिवेशनको उद्घाटन गाउँपालिका अध्यक्ष तथा गाउँसभा अध्यक्ष गोविन्द बहादुर मल्ल ले पानसमा दीप प्रज्वलन गरी गर्नुभएको हो।
“स्वास्थ्य, शिक्षा, कृषि, जडीबुटी, पर्यटन, जलस्रोत तथा पूर्वाधार, औद्योगिकीकरण, सुशासन र गरिबी निवारण : समृद्ध हिमालीको आधार” भन्ने मूल नाराका साथ गाउँसभा सुरु गरिएको गाउँपालिकाले जनाएको छ।
गाउँसभामा अध्यक्ष मल्लले आर्थिक वर्ष २०८३/०८४ का लागि सुशासन, संगठन विकास तथा व्यवस्थापन, पूर्वाधार विकास, वन वातावरण तथा विपद् व्यवस्थापन, शिक्षा, युवा तथा खेलकुद, स्वास्थ्य, उद्यम विकास, सामाजिक सुरक्षा तथा आर्थिक क्षेत्रसँग सम्बन्धित नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको गाउँपालिका प्रवक्ता भीमानन्द पाण्डे ले बताउनुभयो।
अधिवेशनमा गाउँसभा उपाध्यक्ष राजकला सार्की, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुल बहादुर थापा, गाउँसभा सदस्य, कार्यपालिका सदस्य, गाउँपालिकाका कर्मचारी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।
गाउँपालिकाका अनुसार गाउँसभा अधिवेशनको बाँकी कार्यक्रम मंगलबार अपराह्न ३ बजे पुनः सञ्चालन गरिनेछ। गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रममाथि विस्तृत छलफल गरी आगामी आर्थिक वर्षका विकास तथा सेवा प्रवाहका प्राथमिकता तय गरिने जनाइएको छ।

बाजुरा, असार ९ – जगन्नाथ गाउँपालिकाले कृषि उत्पादन, उद्यम विकास र आयआर्जनलाई केन्द्रमा राख्दै आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। गाउँपालिकाको १८औँ गाउँसभामा अध्यक्ष कालीबहादुर शाहीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै स्थानीय स्रोत–साधनको अधिकतम उपयोग, जनताले प्रत्यक्ष अनुभूति गर्ने विकास तथा प्रभावकारी सेवा प्रवाहलाई मुख्य प्राथमिकतामा राखिएको बताउनुभयो।
अध्यक्ष शाहीले गाउँपालिकाभित्रका सबै वडालाई जोड्ने सडकको स्तरोन्नति, जुड्डी आधारभूत अस्पताललाई पूर्ण क्षमतामा सञ्चालन गर्ने तथा आवश्यक स्वास्थ्यकर्मी व्यवस्थापन गर्ने नीति समेटिएको जानकारी दिनुभयो। शिक्षा क्षेत्रमा विद्यालयको भौतिक पूर्वाधार सुधार, गुणस्तरीय शिक्षामा लगानी वृद्धि, स्वास्थ्य सेवाको पहुँच विस्तार तथा नागरिकमैत्री सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने लक्ष्य लिइएको उहाँले बताउनुभयो।
नीति तथा कार्यक्रममा रैथाने कृषि बालीको संरक्षण, उत्पादन वृद्धि तथा बजारीकरण, पशुपालन र जडीबुटी खेतीको प्रवर्द्धन, मागमा आधारित सीपमूलक तालिम, युवा उद्यमशीलता विकास, रोजगारी सिर्जना तथा स्थानीय उत्पादनलाई आयआर्जनसँग जोड्ने कार्यक्रमलाई विशेष महत्व दिइएको छ। साथै वन संरक्षण, वृक्षरोपण अभियान तथा सबै उद्यम–व्यवसायलाई कानुनी दायराभित्र ल्याउने नीति पनि समावेश गरिएको छ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत रविन्द्र शाहीले कक्षा १ देखि १२ सम्म अध्ययनरत विद्यार्थीका लागि नैतिक शिक्षा तथा कानुनी सचेतना कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो। प्रभावकारी रूपमा सञ्चालन हुँदै आएका नियमित कार्यक्रमलाई निरन्तरता दिँदै थप सुदृढ बनाइने उहाँले बताउनुभयो।
गाउँसभामा नेपाली कांग्रेस, नेकपा (एमाले) तथा नेकपाका प्रतिनिधिहरूले नीति तथा कार्यक्रममाथि धारणा राख्दै गाउँपालिकाले विकास निर्माण र सेवा प्रवाहमा उल्लेखनीय प्रगति हासिल गरेको बताएका थिए। नेपाली कांग्रेसका नेता अर्जुन विष्टले दलगत स्वार्थभन्दा माथि उठेर गाउँपालिकाले विकासका काम अघि बढाएको भन्दै त्यसलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गर्नुभयो।
गाउँपालिका उपाध्यक्ष मरुकला विष्टले नीति तथा कार्यक्रम समावेशी, जनमुखी तथा लक्षित वर्ग केन्द्रित रहेको बताउँदै यसको प्रभावकारी कार्यान्वयनबाट गाउँपालिकाको समग्र विकासले थप गति लिने विश्वास व्यक्त गर्नुभयो।
गाउँसभाको सञ्चालन लक्ष्मण जोशीले गर्नुभएको थियो। गाउँपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रमले कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार, रोजगार तथा स्थानीय आर्थिक विकासलाई एकसाथ अघि बढाउने स्पष्ट दिशा तय गरेको भन्दै सहभागीहरूले यसको उच्च स्वागत तथा प्रशंसा गरेका छन्।
गाउँपालिकाका सूचना अधिकारी राजेन्द्र प्रसाद जोशीले गाउँसभाबाट पारित नीति तथा कार्यक्रमले स्थानीय आवश्यकता, जनअपेक्षा र दिगो विकासका लक्ष्यलाई समेटेकाले आगामी वर्ष गाउँपालिकाको समग्र विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको छ।

बाजुरा — जगन्नाथ गाउँपालिकाको १८औँ गाउँसभाबाट आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तुत नीति तथा कार्यक्रम विस्तृत छलफलपछि सफलतापूर्वक पारित भएको छ।
मिति २०८३ असार ९ गते सम्मानित गाउँसभा अध्यक्षको अध्यक्षतामा सम्पन्न गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रममाथि जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, कर्मचारी तथा सरोकारवालाहरूबीच व्यापक छलफल गरिएको थियो। छलफलबाट प्राप्त सुझावहरूलाई समेत समेट्दै आगामी आर्थिक वर्षका लागि आवश्यक नीति तथा कार्यक्रम स्वीकृत गरिएको गाउँपालिकाले जनाएको छ।
पारित नीति तथा कार्यक्रममा गाउँपालिकाको समग्र विकास, सुशासन प्रवर्द्धन, सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने, कृषि उत्पादन वृद्धि, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवाको पहुँच विस्तार, पूर्वाधार निर्माण, रोजगार प्रवर्द्धन, सामाजिक सुरक्षा तथा समावेशी विकासलाई प्राथमिकतामा राखिएको छ। साथै स्थानीय स्रोत–साधनको अधिकतम उपयोग गर्दै दिगो विकासका लक्ष्य हासिल गर्ने उद्देश्यसहित विभिन्न क्षेत्रगत कार्यक्रमहरू समावेश गरिएको जनाइएको छ।
गाउँपालिकाले आगामी आर्थिक वर्षमा जनमुखी, पारदर्शी र उत्तरदायी शासन प्रणालीमार्फत नागरिकलाई सहज तथा प्रभावकारी सेवा प्रदान गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ।
नीति तथा कार्यक्रम तर्जुमा, छलफल तथा गाउँसभा सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग, समन्वय र सक्रिय सहभागिता जनाउने सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी तथा आम नागरिकप्रति जगन्नाथ गाउँपालिकाले हार्दिक आभार व्यक्त गरेको छ।
गाउँपालिकाका सूचना अधिकारी राजेन्द्र प्रसाद जोशीले १८औँ गाउँसभाबाट आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम सफलतापूर्वक पारित भएको जानकारी दिनुभएको छ।

बाजुरा — स्वामिकार्तिक खापर गाउँपालिकामा सञ्चालन भइरहेको “आमा पहिलो” कार्यक्रम अन्तर्गत वडा नं. ४ र ५ का विभिन्न बस्तीका आमाहरूलाई खाद्यान्न वितरण गरिएको छ। कार्यक्रममार्फत वडा नं. ४ का छापु र वाई तथा वडा नं. ५ का जेराँ, डाँडावाडा र मिगुका गरी ३२० घरधुरीका आमाहरूलाई खाद्यान्न उपलब्ध गराइएको हो।
कार्यक्रमअन्तर्गत प्रत्येक घरधुरीका आमालाई ५० किलोका दरले खाद्यान्न वितरण गरिएको जनाइएको छ। दुर्गम क्षेत्रमा बसोबास गर्ने परिवारहरूको खाद्य सुरक्षामा टेवा पुर्याउने, आमाहरूको जीवनस्तर सुधार गर्ने तथा परिवारको आधारभूत आवश्यकतामा सहयोग पुर्याउने उद्देश्यले खाद्यान्न वितरण गरिएको गाउँ
पालिकाका अध्यक्ष भरत बहादुर रोकायाले जानकारी दिनुभयो।खाद्यान्न पाएपछि स्थानीय आमाहरूले कार्यक्रमप्रति खुसी व्यक्त गर्दै यस्तो सहयोगले घरपरिवारको दैनिक जीवनयापनमा सहजता थपिएको बताएका छन्। विशेष गरी ग्रामीण तथा विकट बस्तीका परिवारका लागि खाद्यान्न सहयोग महत्वपूर्ण राहत बनेको उनीहरूको भनाइ छ।
“आमा पहिलो” कार्यक्रम मातृशक्ति सशक्तीकरण, पोषण सुधार र सामाजिक सुरक्षालाई केन्द्रमा राखेर सञ्चालन भइरहेको कार्यक्रम हो। आमाहरूलाई प्राथमिकतामा राखेर गरिएका यस्ता गतिविधिले समुदायमा सकारात्मक प्रभाव पारेको स्थानीयवासीको विश्वास छ।
स्थानीयले कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्दै दुर्गम क्षेत्रका नागरिकको जीवनस्तर उकास्न यस्ता जनमुखी योजनाले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्। कार्यक्रमबाट लाभान्वित ३२० घरधुरीका परिवारले प्रत्यक्ष राहत पाएका छन् भने यसले समुदायमा सहयोग र अपनत्वको भावना समेत बलियो बनाएको छ।

बाजुराको कोल्टी अस्पतालबाट एक गर्भवती महिलाको हवाई उद्धार गरिएको छ। जगन्नाथ गाउँपालिका–५ की २३ वर्षीया विपना सार्कीको स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत थप उपचारका लागि सुर्खेत पठाइएको हो।
जिल्ला प्रशासन कार्यालय बाजुराका अनुसार सार्कीलाई उपचारका लागि कोल्टी अस्पतालमा ल्याइएको थियो। स्वास्थ्य परीक्षणका क्रममा उनको अवस्था जटिल देखिएपछि चिकित्सकहरूले सुविधा सम्पन्न अस्पतालमा तत्काल रिफर गरेका थिए।
दुर्गम भौगोलिक अवस्था र सीमित स्वास्थ्य सेवाका कारण जोखिम बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उनको निःशुल्क हवाई उद्धार गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
गर्भवती तथा सुत्केरी महिलाको ज्यान जोखिममा पर्न नदिन र समयमै विशेषज्ञ उपचार उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको उक्त कार्यक्रमले दुर्गम क्षेत्रका महिलाका लागि जीवनरक्षक सेवाका रूपमा काम गर्दै आएको छ। विपना सार्कीको उद्धारसँगै राज्यले दुर्गम बस्तीका नागरिकको स्वास्थ्य सुरक्षाप्रति देखाएको संवेदनशीलता पुनः पुष्टि भएको स्थानीयवासीले बताएका छन्।

बाजुरा, असार ७ — धनगढीबाट बाजुरातर्फ आउँदै गरेको पवनदूत यातायातको बस आइतबार बिहान बुढीगंगा नगरपालिका–१० स्थित मालिका बजार नजिक दुर्घटनामा परेको छ। दुर्घटनामा परी प्रारम्भिक जानकारीअनुसार २३ जना यात्रु घाइते भएका छन्।
सु.प.प्र. १३५५ नम्बरको उक्त बस बिहान करिब ७ः२० बजे ब्रेक फेल भएपछि अनियन्त्रित भई दुर्घटनामा परेको बताइएको छ। दुर्घटनालगत्तै स्थानीय बासिन्दा, व्यापारी, नेपाल प्रहरी, यातायात व्यवसायी तथा जनप्रतिनिधिहरूको सक्रिय सहयोगमा उद्धार कार्य सञ्चालन गरिएको थियो।
घाइते यात्रुहरूलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल बाजुरा तथा बयालपाटा अस्पताल अछाम पठाइएको छ। केही घाइतेको अवस्था सामान्य रहेको र अन्यको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि केही समय सडक क्षेत्रमा आवागमन प्रभावित भए पनि उद्धार टोलीले तत्काल व्यवस्थापन गरेको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको र दुर्घटनाको विस्तृत विवरण सङ्कलन भइरहेको सम्बन्धित निकायले जनाएको छ।
स्थानीयवासीले समयमै उद्धार कार्य सम्पन्न भएकाले ठूलो मानवीय क्षति हुन नपाएको बताएका छन्। दुर्घटनाले यात्रु तथा उनका आफन्तलाई चिन्तित बनाएको छ भने घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।

सरस्वती जोशी,
बाजुरा जिल्लाको हिमाली गाउँपालिका–७ बाधुँमा वर्षौंदेखि सञ्चालन हुँदै आएको कुलो सोराई मेला यस वर्ष पनि भव्य रूपमा सम्पन्न भएको छ। कृषि, संस्कृति, धार्मिक आस्था, खेलकुद र सामाजिक एकताको अनुपम संगमका रूपमा परिचित यो मेला स्थानीय समुदायको साझा पहिचान र गौरवका रूपमा स्थापित हुँदै आएको छ।
स्थानीय समाजसेवी दिपचन्द्र उपाध्यायका अनुसार प्रत्येक वर्ष असार २ गतेदेखि १० गतेसम्म शुभ साइत पारेर कुलो सोराई मेला आयोजना गरिने परम्परा रहिआएको छ। पहाडी क्षेत्रमा कृषि मुख्य पेशा भएकाले सिँचाइका लागि कुलोको विशेष महत्व रहने गर्दछ। खेतीपातीको मौसम सुरु हुनुअघि गाउँलेहरू सामूहिक रूपमा भेला भएर कुलोको सरसफाइ, मर्मत तथा पानी व्यवस्थापन गर्ने परम्पराबाट सुरु भएको यो अभियान समयसँगै विशाल सांस्कृतिक मेलाका रूपमा विकास भएको हो।
मेलाले सामूहिक श्रम, सहयोग र एकताको भावनालाई मजबुत बनाउँदै आएको छ। गाउँका सबै वर्ग र समुदायका मानिसहरू एकै ठाउँमा भेला भएर कुलो संरक्षणसँगै सामाजिक सम्बन्ध सुदृढ गर्ने अवसरका रूपमा यसलाई लिने गरेका छन्। यही कारण कुलो सोराई मेला बाधुँको मात्र नभई समग्र हिमाली क्षेत्रको सांस्कृतिक पहिचान बन्न सफल भएको छ।
मेलाको मुख्य आकर्षण देउडा कार्यक्रम हो। स्थानीय कलाकार, युवा तथा ज्येष्ठ नागरिकहरू परम्परागत भेषभूषामा सजिएर देउडा खेल्ने, गीत गाउने र आफ्ना मौलिक संस्कार तथा संस्कृति प्रदर्शन गर्ने गर्दछन्। देउडाका माध्यमबाट प्रेम, समाज, राजनीति, विकास, संस्कृति र जनजीवनका विविध पक्षलाई गीतमा उतारिने भएकाले यसले पुस्तान्तरणमा महत्वपूर्ण भूमिका खेलेको छ। पुराना पुस्ताले संरक्षण गर्दै आएको मौलिक संस्कृतिलाई नयाँ पुस्तासम्म पुर्याउन कुलो सोराई मेलाले उल्लेखनीय योगदान दिएको स्थानीयवासीहरूको भनाइ छ।
पछिल्ला वर्षहरूमा मेलाको अर्को प्रमुख आकर्षण भलिबल प्रतियोगिता बन्दै गएको छ। प्रतियोगितामा हिमाली गाउँपालिका सहित बाजुराका विभिन्न क्षेत्र तथा छिमेकी जिल्लाका टोलीहरूको उत्साहजनक सहभागिता रहने गरेको छ। खेलकुदमार्फत युवाहरूमा अनुशासन, नेतृत्व क्षमता, आपसी सद्भाव र स्वस्थ प्रतिस्पर्धाको भावना विकास भएको स्थानीयहरू बताउँछन्। प्रतियोगिता हेर्न ठूलो संख्यामा दर्शकहरूको उपस्थितिले मेलालाई अझ जीवन्त बनाउने गरेको छ।
मेलाको अवसरमा स्थानीय देवीदेवताहरूको पूजा–आराधना, गाउँको सुख, शान्ति र समृद्धिको कामना, शुभकामना आदानप्रदान तथा स्थानीय उत्पादनहरूको प्रदर्शन र बिक्री वितरणसमेत हुने गरेको छ। यसले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउनुका साथै गाउँ छोडेर देश तथा विदेशमा रहेका स्थानीयलाई गाउँ फर्काएर आफन्तसँग पुनर्मिलन गराउने अवसरसमेत प्रदान गर्ने गरेको छ।
हिमाली गाउँपालिका–७ का वडा अध्यक्ष टपेन्द्र शाहीले कुलो सोराई मेला एउटा मनोरञ्जनको कार्यक्रम नभई गाउँको इतिहास, पहिचान र सामाजिक एकताको प्रतीक भएको बताउनुभयो। उहाँले भन्नुभयो, “हाम्रा पुर्खाले संरक्षण गरेर हस्तान्तरण गरेको यो अमूल्य सम्पदालाई जोगाउनु हामी सबैको दायित्व हो। कुलो सोराई मेलाले गाउँका दाजुभाइ, दिदीबहिनीबीचको सम्बन्धलाई अझ बलियो बनाएको छ। देउडा संस्कृति, कृषि परम्परा र खेलकुदलाई एकै ठाउँमा जोड्ने यस्तो मेलाले हाम्रो मौलिक पहिचान जोगाउन ठूलो भूमिका खेलेको छ।”
वडा अध्यक्ष शाहीले मेलालाई निरन्तर चर्चित र जीवन्त बनाउन योगदान पुर्याउने ख्यातिप्राप्त देउडा कलाकार, खेलाडी तथा पत्रकारहरूलाई सम्मानस्वरूप सानो सम्झना प्रदान गरिएको जानकारी दिनुभयो। उहाँले “समाज, संस्कृति र स्थानीय पहिचान संरक्षणमा योगदान पुर्याउने व्यक्तिहरूको सम्मानले आगामी पुस्तालाई पनि प्रेरणा मिल्ने विश्वास” व्यक्त गर्नुभयो।
स्थानीयवासीहरूका अनुसार आधुनिकताको प्रभाव बढ्दै गए पनि बाधुँको कुलो सोराई मेला आफ्नो मौलिकता जोगाउँदै अघि बढिरहेको छ। कृषि सभ्यता, धार्मिक आस्था, देउडा संस्कृति, खेलकुद र सामाजिक सद्भावलाई एउटै थलोमा समेट्ने यो मेला आज समग्र बाजुराकै गौरव र सांस्कृतिक सम्पदाका रूपमा परिचित बन्दै गएको छ। स्थानीयहरू भन्छन्, “कुलो सोराई मेला एउटा उत्सव मात्र नभएर यो हाम्रो इतिहास, परम्परा, पहिचान र पुस्तौँदेखिको सामुदायिक एकताको जीवित दस्तावेज हो।”पछिल्लो समय युवापुस्ता बाहिरीनाले कतै मेलाको बिरासत हराउँने बुढापाका चिन्ता ब्यक्त गर्छन् ।
असार ३

बाजुरा — अदानचुली गाउँपालिका–२ का करिब १३/१४ वर्षका मुकेश महतारा बुधबार बिहानदेखि सम्पर्कविहीन भएका छन्। कक्षा १० मा अध्ययनरत मुकेश आज बिहान करिब ६ बजेतिर आफ्नै घरबाट निस्केको र त्यसयता सम्पर्कमा नआएको परिवारले जनाएको छ।
मुकेशका बुबा कासी महताराका अनुसार उनी अलि ठुलो टाउको भएका छन्, जसका आधारमा चिनिन सकिने बताइएको छ। बिहान बाजुराको शाखा क्षेत्रमा पर्ने उकालो आसपास स्थानीयवासीले उनलाई देखेको आशंका गरिएको छ।
परिवारले छोराको खोजीका लागि सबैसँग सहयोगको अपिल गरेको छ। यदि कसैले मुकेशलाई देखे वा भेटेमा नजिकैको प्रहरी कार्यालयमा खबर गर्न वा ९८४८३८५३३० नम्बरमा सम्पर्क गरिदिन अनुरोध गरिएको छ।
हाल परिवार तथा स्थानीयवासी मिलेर उनको खोजी कार्य जारी राखेका छन्।भने प्रहरीमा पनि खोजीका लागि अपिल गरेका छ्न।

बाजुरा — जिल्लाको हिमाली गाउँपालिका–६ धिमबाट धुलाचौरतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा नेपाली कांग्रेस हिमाली गाउँपालिका सभापति अमलाल कार्की घाइते हुनुभएको छ।
बा ७५ प ७८३९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको हो। दुर्घटनामा घाइते भएका कार्कीको कोल्टी अस्पतालमा प्रारम्भिक उपचार गरिएको अस्पताल स्रोतले जनाएको छ।
अस्पतालका अनुसार उहाँको स्वास्थ्य अवस्था मध्य–गम्भीर रहेको र थप उपचारका लागि भोलि बिहान नेपालगन्ज रिफर गरिने तयारी गरिएको छ।
स्थानीयवासीका अनुसार उक्त सडक खण्डमा मोडहरू धेरै भएका कारण सवारी दुर्घटनाको जोखिम उच्च रहने गरेको छ।
घटनापछि स्थानीय नेता, कार्यकर्ता तथा सर्वसाधारणले कार्कीको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

