
हुम्लाको सर्केगाड गाउँपालिका वडा नं १ खच्चा क्षेत्रमा पर्ने कर्णाली करिडोर सडकखण्डमा सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।
मंगलबार बिहान सडक माथिबाट अचानक सुक्खा पहिरो खसेपछि उक्त सडकखण्ड पूर्ण रूपमा बन्द भएको हो । पहिरोका कारण दुवैतर्फका सवारीसाधन रोकिएका छन् ।
सडकमा सुक्खा पहिरो खसेको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट तुम्च, हुम्लाबाट प्रहरी सहायक निरीक्षक टेकराज पाण्डेयको कमाण्डमा चार जनाको प्रहरी टोली उक्त सडकखण्डमा खटिएको छ ।
सडक खुलाउनका लागि जेसिबी परिचालन गर्ने प्रयास भइरहेको छ भने सर्केगाड गाउँपालिकाको जेसिबी त्यसतर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख शङ्कर खड्काले बताउनुभयो।
उक्त सडकमा सुक्खा पहिरो खस्दा दुवैतर्फका एक दर्जनभन्दा बढी सवारीसाधन रोकिएको स्थानीय तथा सम्बन्धित ठाउँमा पसल व्यवसाय गर्दै आउनुभएका डिलबहादुर कार्कीले बताउनुभयो ।
सडकमा सुक्खा पहिरो खस्दा करिब एक घण्टा बढीसम्म पैदल हिँडेर गाडी भएको ठाउँमा पुग्नुपरेको र उक्त सडक खण्डमा पटकपटक सुक्खा पहिरो खस्दा यात्रुलाई आवतजावतमा समस्या बनाएको कार्कीले बताउनुभयो ।

असार १ – बाजुरा जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका–४ मा एक युवतीमाथि अज्ञात समूहले मध्यरातमा चक्कु प्रहार गरेको घटना सार्वजनिक भएको छ।
प्रहरीका अनुसार ३६ वर्षीया ठुमुरा बिष्टमाथि आइतबार राति करिब १० बजे सुतिरहेको अवस्थामा २–३ जनाको अज्ञात समूहले आक्रमण गरेको हो। प्रारम्भिक अनुसन्धानबाट ती व्यक्तिहरूले बिष्टलाई भान्साघरतर्फ बोलाएर घाँटीको बायाँ भागमा चक्कु प्रहार गरेको खुलेको छ।
घटनापछि घाइते बिष्टको तत्काल उद्धार गरी उपचारका लागि नेपालगन्ज लगिएको प्रहरीले जनाएको छ। हाल उहाँको अवस्था निगरानीमा राखिएको र थप उपचार भइरहेको बताइएको छ।
जिल्ला प्रहरी कार्यालय बाजुराले घटनामा संलग्न व्यक्तिहरूको खोजी कार्य तीव्र बनाइएको जनाएको छ। घटनाको कारण खुल्न बाँकी रहेको र विभिन्न कोणबाट अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
स्थानीयवासीले शान्त र सुरक्षित मानिने क्षेत्रमा यस्तो घटना घटेकाले दोषीलाई यथाशीघ्र पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेका छन्। घटनाले गाउँमा त्रासको वातावरण सिर्जना भएको छ भने महिला सुरक्षाप्रति समेत चिन्ता बढाएको छ।
प्रहरीले घटनाबारे थप तथ्य संकलन गरिरहेको र अनुसन्धान निष्कर्षमा पुगेपछि विस्तृत विवरण सार्वजनिक गरिने जनाएको छ।उहाँ आफ्नो माईती गाउँ वाईमा सानो ब्यवसाय गर्दै आउनुभएको थियो।

सन्तोष प्रसाद जोशी, जेठ ३१
पछिल्लो समय बाजुराको क्षेत्र रानीसैनलाई लिएर विभिन्न किसिमका विवाद, आलोचना तथा भ्रमपूर्ण चर्चा भइरहेका बेला लाम्पाटामा सशस्त्र प्रहरी बल नेपालको अस्थायी सुरक्षा बेस स्थापना भएको छ। आईतवार दिउँसो एक कार्यक्रमका बिच लाम्पाटा क्षेत्रमा अस्थायी सुरक्षा बेस स्थापना गरिएको सशस्त्र प्रहरी जवान भिष्म कटेलले ह्याप्पी खबरलाई जानकारी दिनुभयो ।स्थानीयवासीले यसलाई राज्यको उपस्थिती बलियो बनाउने र बाजुराको भू–भागको सुरक्षा सुनिश्चित गर्ने महत्वपूर्ण कदमका रूपमा लिएका छन्।
हिमाली गाउँपालिका–३ अन्तर्गत पर्ने लाम्पाटा क्षेत्रमा सशस्त्र प्रहरीको अस्थायी सुरक्षा बेस स्थापना भएसँगै सीमा क्षेत्रको सुरक्षा, निगरानी तथा कानुनी शासनलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ। लामो समयदेखि रानीसैन क्षेत्रलाई लिएर विभिन्न टिकाटिप्पणी हुँदै आएको अवस्थामा सुरक्षा बेस स्थापना हुनु बाजुरावासीका लागि महत्वपूर्ण उपलब्धि मानिएको छ।
रानीसैन बाजुरा जिल्लाको भू–भाग भएकाले यहाँ राज्यको सुरक्षा उपस्थिती अझ सशक्त बनाइएको हो।सुरक्षा बेस स्थापना भएपछि सीमा क्षेत्रको निगरानी, अवैध गतिविधि नियन्त्रण तथा तस्करीजन्य कार्यहरूमा प्रभावकारी रोक लाग्ने सशस्त्र प्रहरी जवान कटेलले बताउनुभयो।
स्थानीयवासीका अनुसार वर्षौंदेखि सीमा क्षेत्रको कमजोरीको फाइदा उठाउँदै केही समूहले अवैध कारोबार र तस्करीका गतिविधि सञ्चालन गर्ने प्रयास गर्दै आएका थिए। सुरक्षा बेस स्थापना भएसँगै त्यस्ता गतिविधिमाथि निगरानी बढ्ने र अवैध सञ्जाल कमजोर बन्ने अपेक्षा गरिएको छ।
रानीसैनमा सुरक्षा निकायको उपस्थिती बलियो भए पनि सञ्चार सेवाको अभाव भने अझै चुनौतीकै रूपमा रहेको छ। स्थानीयले सुरक्षा बेससँगै नेपाल टेलिकमको मोबाइल टावर स्थापना गर्न सरकारसँग माग गरेका छन्। टेलिकम सेवा नहुँदा स्थानीय नागरिक, सुरक्षाकर्मी तथा यात्रुहरूले सञ्चारमा कठिनाइ भोग्दै आएका छन्।
स्थानीयवासीको भनाइ छ, “सुरक्षा बेस स्थापना हुनु खुसीको कुरा हो, तर प्रभावकारी सुरक्षा, विपद् व्यवस्थापन र नागरिक सेवाका लागि सञ्चार सेवा पनि उत्तिकै आवश्यक छ।लाम्पाटा, रानीसैनमा तत्काल नेपाल टेलिकमको टावर स्थापना गरिनुपर्छ।”
सुरक्षा, विकास र सञ्चार पूर्वाधारको दृष्टिले रणनीतिक महत्व बोकेको रानीसैन क्षेत्रमा सशस्त्र प्रहरी बेस स्थापना भएपछि राज्यको उपस्थिती थप मजबुत बनेको छ। अब स्थानीयको प्रमुख अपेक्षा भनेको सञ्चार पहुँच विस्तार गर्दै टेलिकम टावर स्थापना गरी रानीसैनलाई पूर्ण रूपमा राज्यको सेवासँग जोड्नु रहेको छ।

बाजुरा, जेठ ३० – हिमाली गाउँपालिका अन्तर्गत धुलाचौर बजारस्थित गाउँपालिकाको कार्यालयमा आज बिहान रानीसेन पीडित संघर्ष समितिको सर्वपक्षीय बैठक सम्पन्न भएको छ।
समितिका अध्यक्ष विनोद बुढा को अध्यक्षतामा सम्पन्न उक्त बैठकमा जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, प्रशासनिक निकाय तथा सुरक्षा निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
बैठकमा रानीसेन घटनासँग सम्बन्धित विषयमा गम्भीर छलफल गरिएको थियो। विशेष गरी पीडित पक्षलाई न्याय दिलाउने, घटनाको निष्पक्ष छानबिन गर्ने, दोषीमाथि कडा कानुनी कारबाही अघि बढाउने तथा प्रभावित परिवारलाई राहत र सहयोग उपलब्ध गराउने विषयमा केन्द्रित भएर छलफल भएको जनाइएको छ।
बैठकले पीडितहरूको पक्षमा आवश्यक पहल गर्ने, सम्बन्धित निकायहरूसँग समन्वय गरी प्रभावकारी रूपमा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ। साथै, बैठकबाट विभिन्न महत्वपूर्ण निर्णयहरू पारित गरिएको र ती निर्णयहरूको कार्यान्वयनका लागि सम्बन्धित निकायलाई आवश्यक पहल गर्न आग्रह गरिएको छ।
सम्पूर्ण पक्षहरू एकजुट भई रानीसेन घटनालाई निष्पक्ष रूपमा टुंगोमा पुर्याउँदै पीडितलाई न्याय दिलाउने निष्कर्ष बैठकले निकालेको छ।असार २ गतेसम्म दोसीलाई कानुनी कारबाही नभएसम्म पुन सडक अबरुद्ध गर्ने चेतावनी सहित बैठककको निष्कर्ष छ।

३० जेठ २०८३
बाजुरा जिल्लाको हिमाली गाउँपालिका–४ फैतीस्थित शैलेश्वरी माध्यमिक विद्यालयका छात्रछात्रालाई शैक्षिक सामग्री वितरण गरिएको छ। फ्रान्समा कर्मथलो बनाउँदै आएका सोनम शेर्पा तथा AD 2026 परिवारको आर्थिक सहयोगमा उक्त सामग्री उपलब्ध गराइएको हो।
आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई लक्षित गर्दै बाबु लवासुर टिभिका सञ्चालक नारायणदत्त उपाध्यायको समन्वयमा शनिबार दिउँसो एक अनौपचारिक कार्यक्रमबीच विद्यालय परिसरमै सामग्री वितरण गरिएको विद्यालय स्रोतले जनाएको छ।
कार्यक्रममा विद्यालयका लेखापाल गणेशबहादुर मल्ल, युवा भीमप्रसाद पाण्डे, सञ्चालक नारायणदत्त उपाध्याय तथा स्थानीय युवाहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा करिब १८७ जना विद्यार्थीलाई ट्र्याकसुट वितरण गरिएको जानकारी दिइएको छ।
यस प्रकारको सहयोगले विपन्न वर्गका विद्यार्थीको पढाइमा सहजता ल्याउने विश्वास गरिएको छ।बाबु लवासुर टिभिका संचालक उपाध्यायले बिभिन्न बिद्यालयका छात्रछात्रालाई सहयोग गर्दै आउनुभएको छ।

सन्तोष प्रसाद जोशी
बाजुरा-हिमाली गाउँपालिका–३, लामपाटामा गत जेठ ३ र ५ गते भएको कुटपिट घटनापछि उत्पन्न परिस्थितिका विषयमा जिल्ला प्रशासन कार्यालय बाजुरामा सर्वदलीय तथा सर्वपक्षीय बैठक सम्पन्न भएको छ। प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाको अध्यक्षतामा मार्तडीमा सम्पन्न बैठकले घटनाका दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याउन तथा पीडित पक्षलाई न्याय दिलाउन जोड दिएको छ।
बैठकमा बडीमालिका नगरपालिका प्रमुख अमर खड्का, गौमुल गाउँपालिका अध्यक्ष हरि बहादुर रोकाया, हिमाली गाउँपालिका उपाध्यक्ष राजकला सार्की, सुरक्षा निकायका प्रमुख, विभिन्न राजनीतिक दलका प्रतिनिधि, नेपाल पत्रकार महासंघ बाजुरा तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
बैठकले लामपाटा घटनामा संलग्न व्यक्तिहरूलाई यथाशीघ्र पक्राउ गर्न संघीय सरकारसँग अनुरोध गर्ने तथा पक्राउ प्रक्रियालाई तीव्र बनाउन स्थानीय प्रशासनले गम्भीरतापूर्वक पहल गर्ने निर्णय गरेको छ। साथै घटनाका दोषीहरूलाई पक्राउ नगरेसम्म पीडित पक्षले सञ्चालन गर्ने आन्दोलन तथा राजमार्ग अवरोधजस्ता कार्यक्रमको अवस्थाबारे राजनीतिक दल, जनप्रतिनिधि तथा सरोकारवाला पक्षले सुरक्षा निकायलाई निरन्तर जानकारी गराउने सहमति भएको छ।
बैठकले घटनाबाट प्रभावित तथा विस्थापित बनेका स्थानीय नागरिकहरूको सुरक्षा, पुनर्स्थापना र सम्मानजनक रूपमा घर फर्किने वातावरण निर्माण गर्न आवश्यक पहल गर्ने निर्णय समेत गरेको छ। प्रभावित समुदायको माग र ज्ञापनपत्रका विषयमा विस्तृत छलफल गर्दै सबै पक्षको समन्वय, सहकार्य र सहयोगबाट समस्या समाधानको दिशामा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
सहभागीहरूले सामाजिक सद्भाव, जातीय सहअस्तित्व, कानुनी शासन र मानव अधिकारको सम्मान गर्दै घटनाको निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिएका थिए। बैठकले दोषीलाई कानुनी दायरामा ल्याउने, पीडितलाई न्याय दिलाउने र जिल्लामा शान्ति तथा सामाजिक सद्भाव कायम राख्न सबै पक्ष एकजुट भएर काम गर्ने निष्कर्ष निकालेको छ।
लामपाटा घटनापछि उत्पन्न तनाव र विस्थापनको अवस्थालाई मध्यनजर गर्दै प्रशासन, स्थानीय तह, राजनीतिक दल तथा सुरक्षा निकायबीच थप समन्वय र सहकार्य गरी समस्या समाधान गर्ने निर्णय बैठकले गरेको जनाएको छ।

समाजमा अझै पनि मानवता जीवित छ भन्ने उदाहरण प्रस्तुत गर्दै श्याम सार्की मंगराती र फुलुमाया सार्की मंगरातीद्वारा सञ्चालित श्याम फुलुमाया हस्तकला उद्योग, श्याम फुलुमाया फाउन्डेसन तथा जय महाकाल युवा समूहका संरक्षक आषिश राज पाण्डेय को सहयोगमा बाजुराका विभिन्न पीडित, अशक्त र विपन्न परिवारलाई राहत तथा आर्थिक सहयोग प्रदान गरिने भएको छ।
बाजुराको हिमाली गाउँपालिका–२, कोटस्थित श्री ठुलाकोट माध्यमिक विद्यालय का आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूलाई शैक्षिक सामग्री तथा आवश्यक सहयोग उपलब्ध गराएको छ। विद्यालयका धेरै विद्यार्थीहरू अभावकै बीच पढाइलाई निरन्तरता दिइरहेका बेला आएको यो सहयोगले उनीहरूको अनुहारमा खुसी ल्याउने छ।
त्यसैगरी, अशक्त अवस्थामा जीवनयापन गरिरहेका दाने बोहरा तथा दुवै खुट्टा भाँचिएर पीडामा रहेका जगन्नाथ गाउँपालिकाका एक नागरिकलाई पनि आर्थिक सहयोग प्रदान गरिने भएको छ। दैनिक जीवन चलाउन समेत कठिनाइ भोगिरहेका उनीहरूका लागि यो सहयोग आशाको किरण बनेको छ।
यस्तै, बुढीनन्दा नगरपालिकाका खड्क दमाईँका छोराछोरी र अर्को एक विपन्न परिवारलाई समेत सहयोग उपलब्ध गराइने जानकारी दिइएको छ। अभाव, गरिबी र पीडासँग संघर्ष गरिरहेका ती परिवारका लागि सहयोगले केही राहत मिल्ने अपेक्षा गरिएको छ।
“कसैको आँसु पुछ्न सकियो भने त्यो नै सबैभन्दा ठूलो धर्म हो,” भन्ने भावनाका साथ सहयोग अभियान सञ्चालन गरिएको बताइएको छ। सहयोग वितरण कार्य आगामी केही दिनभित्र सम्पन्न गरिने जनाइएको छ।
बाबु लवासुर टिभीका सञ्चालक नारायण उपाध्यायका अनुसार, समाजका पीडित, असहाय र गरिब परिवारसम्म सहयोग पुर्याउने उद्देश्यले यो अभियान अघि बढाइएको हो।
पीडामा रहेका मानिसहरूका लागि गरिएको यस्तो मानवीय कार्यले समाजमा सहकार्य, सद्भाव र मानवताको सन्देश फैलाएको छ। सहयोगी संस्था र व्यक्तिहरूप्रति स्थानीयवासीले हार्दिक धन्यवाद व्यक्त गरेका छन्।

बाजुरा, असार २५ – हिमाली गाउँपालिकाको केन्द्र धुलाचौरमा अन्तरनेशनल नेपाल फेलोसिप (INF) नेपालको आयोजनामा परियोजना सल्लाहकार समिति बैठक तथा सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न भएको छ।मंगलबार दिउँसो एक कार्यक्रमका बिच उक्त कार्यक्रम समपन्न भएको हो।
कार्यक्रममा गाउँपालिका तथा स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सञ्चालित परियोजनाका गतिविधि, उपलब्धि, चुनौती तथा आगामी कार्ययोजनाबारे विस्तृत छलफल गरिएको थियो।
साथै परियोजनाको पारदर्शिता, जवाफदेहिता तथा प्रभावकारितालाई थप सुदृढ बनाउन सामाजिक लेखा परीक्षण समेत गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा सहभागीहरूले परियोजनाबाट समुदायमा परेको सकारात्मक प्रभावका बारेमा धारणा राख्दै आगामी दिनमा अझ प्रभावकारी ढंगले कार्यक्रम सञ्चालन गर्न सुझाव दिएका थिए। स्थानीय तह, समुदाय तथा साझेदार संस्थाबीच समन्वय र सहकार्यलाई थप मजबुत बनाउने विषयमा समेत छलफल भएको थियो।
सामाजिक लेखा परीक्षणमार्फत परियोजनाको आय–व्यय, कार्यक्रम कार्यान्वयनको अवस्था तथा लक्षित वर्गमा पुगेको सेवाको प्रभावबारे जानकारी सार्वजनिक गरिएको थियो। सहभागीहरूले खुला रूपमा जिज्ञासा तथा सुझाव प्रस्तुत गरेका थिए।
उक्त कार्यक्रम हिमाली गाउँपालिका धुलाचौरमा सञ्चालन भइरहेको उत्थानशीलता, समावेशी, दिगो विकास र सशक्तीकरण (RISE) परियोजनाअन्तर्गत आयोजना गरिएको हो। कार्यक्रमले स्थानीय समुदायको सहभागिता बढाउँदै विकासका गतिविधिलाई थप पारदर्शी र उत्तरदायी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।
२०८३ जेठ-२५

मुगु — सामाजिक सेवामा सक्रिय श्याम फुलुमाया हस्तकला उद्योगद्वारा सञ्चालित श्याम फुलुमाया फाउन्डेसनका सञ्चालक श्याम मङ्गराती तथा “भोकालाई भोजन, प्यासीलाइ पानी” अभियान सञ्चालन गर्दै आउनुभएका जय महाकाल युवा समूहका संरक्षक आशिषराज पाण्डेको पहलमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ।
बाबुलवासुर टिभिको समन्वयमा मुगु जिल्लाको खत्याड गाउँपालिका–८, आपमा अवस्थित सरस्वती आधारभूत विद्यालयका विद्यार्थीहरूलाई आवश्यक सामग्री हस्तान्तरण गरिएको हो।आईतवार दिउँसो एक कार्यक्रमका बिच बिद्यालयमा सामाग्री वितरण गरिएको बाबुलवासुर टिभिका संचालक तथा निर्देशक नारायण दत्त उपाघ्यायले जानकारी दिनुभयो।
बिध्यार्थीहरुलाई एक जोर कपडा र झोला बितरण गरिएको बिद्यालय श्रोतले । आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई लक्षित गरी गरिएको यो सहयोगले उनीहरूको पढाइप्रति उत्साह थप्ने अपेक्षा गरिएकको छ।
सहयोग कार्यक्रममा बोल्दै शिक्षिका लक्ष्मी कार्कीले सानो प्रयासले पनि विद्यार्थीको भविष्य उज्यालो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। त्यस्तै, सहयोगी दाता आशिषराज पाण्डेले शिक्षा क्षेत्रको विकासका लागि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभएको छ।
स्थानीय अभिभावक तथा विद्यालय परिवारले सहयोगी हातप्रति आभार व्यक्त गर्दै यस्ता कार्यक्रमले दुर्गम क्षेत्रका विद्यार्थीलाई ठूलो प्रेरणा मिल्ने बताएका छन्।
सामान्य देखिए पनि यस्ता साना सहयोगले दुर्गम भेगका बालबालिकाको शिक्षामा ठूलो प्रभाव पार्ने भएकाले यस्ता सामाजिक अभियान अझ विस्तार हुनुपर्ने आवश्यकता औंल्याइएको छ।उक्त सहयोग बितरण कार्यक्रममा बावुलवासुर टिभिका संचालक नारायण दत्त उपाध्य युवा समाजसेबी भिम प्रसाद पाण्डे,स्थानिय मुकुन्द्र कार्की,खगराज रोकाया लगायतको उपस्थिति थियो।

सरस्वती जोशी, जेठ २२
बाजुरा -कर्णाली करिडोर अन्तर्गत बाजुराको भुकाँ खोलादेखि हुम्लाको मकै क्षेत्रसम्म एकैसाथ ६ वटा पक्की मोटरेबल पुल निर्माण हुने भएका छन्। नेपाल सरकारको लगानीमा निर्माण हुन लागेका यी पुलहरूले कर्णाली करिडोरको यातायात सेवालाई थप सुरक्षित, भरपर्दो र वर्षभरि सञ्चालनयोग्य बनाउने अपेक्षा गरिएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत सडक डिभिजन कार्यालयमार्फत निर्माण गरिने पुलहरूको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) सम्पन्न भइसकेको छ भने ठेक्का प्रक्रिया अगाडि बढाइएको छ। योजना अन्तर्गत बाजुराका भुकाँ खोला, सेरा खोला, बाँधु खोला र तुसारे खोला तथा हुम्लाका पैमा खोला र मकै क्षेत्रमा पक्की मोटरेबल पुल निर्माण गरिने भएको हो।
योजनाका सर्भे इन्जिनियर शिव कार्कीका अनुसार करिब करोडौं रुपैयाँ लागत अनुमान गरिएका यी पुलहरूको निर्माणले कर्णाली करिडोरमा लामो समयदेखि देखिँदै आएको यातायात समस्याको स्थायी समाधान गर्नेछ। वर्षायाममा सामान्य बाढी र खोलामा आउने भेलका कारण सवारीसाधन सञ्चालनमा अवरोध हुने, यात्रुहरू घण्टौँसम्म अलपत्र पर्ने तथा दैनिक उपभोग्य सामग्री ढुवानीमा कठिनाइ हुने समस्या अब क्रमशः अन्त्य हुने विश्वास गरिएको छ।
स्थानीयवासीका अनुसार हालसम्म अधिकांश खोलामा अस्थायी डाइभर्सनको भरमा यातायात सञ्चालन हुँदै आएको थियो। पानीको सतह बढ्नेबित्तिकै सडक अवरुद्ध हुने र यात्रु तथा मालवाहक सवारी जोखिम मोलेर यात्रा गर्न बाध्य हुने अवस्था रहेको थियो। पक्की पुल निर्माणपछि यात्रु तथा सवारीसाधनको आवागमन सहज मात्र नभई सुरक्षित समेत हुने अपेक्षा गरिएको छ।
कर्णाली करिडोर सुदूरपश्चिम र कर्णाली प्रदेशका दुर्गम जिल्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने रणनीतिक महत्वको सडक आयोजना हो। यस करिडोरले नेपालगञ्ज, सुर्खेत, धनगढीलगायत तराईका जिल्लासँग बाजुरा, हुम्ला र मुगु क्षेत्रलाई जोड्दै उत्तरी नाका हुँदै चीनको तिब्बतसम्म व्यापारिक तथा आवागमनको सम्भावना विस्तार गर्ने लक्ष्य राखेको छ।
सरकारले करिडोरलाई राष्ट्रिय गौरवको पूर्वाधारका रूपमा विकास गर्दै आएको छ। सडक स्तरोन्नति, पुल निर्माण तथा अन्य संरचनागत विकासका कार्यले आगामी दिनमा कर्णाली क्षेत्रको आर्थिक, सामाजिक तथा पर्यटन विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
स्थानीय तहका जनप्रतिनिधि तथा नागरिकहरूले पुल निर्माणको कार्य समयमै सम्पन्न भए दुर्गम क्षेत्रका नागरिकले वर्षौंदेखि भोग्दै आएको यातायातको समस्या समाधान हुनुका साथै शिक्षा, स्वास्थ्य, कृषि उत्पादन तथा व्यापारिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेका छन्। कर्णाली करिडोरमा एकैपटक ६ वटा पक्की मोटरेबल पुल निर्माणको प्रक्रिया अघि बढेसँगै यस क्षेत्रका नागरिकमा विकासप्रतिको आशा र उत्साह थप बढेको छ।

