
सन्तोष प्रसाद जोशी
बाजुरा-हिमाली गाउँपालिका–३, लामपाटामा गत जेठ ३ र ५ गते भएको कुटपिट घटनापछि उत्पन्न परिस्थितिका विषयमा जिल्ला प्रशासन कार्यालय बाजुरामा सर्वदलीय तथा सर्वपक्षीय बैठक सम्पन्न भएको छ। प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाको अध्यक्षतामा मार्तडीमा सम्पन्न बैठकले घटनाका दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याउन तथा पीडित पक्षलाई न्याय दिलाउन जोड दिएको छ।
बैठकमा बडीमालिका नगरपालिका प्रमुख अमर खड्का, गौमुल गाउँपालिका अध्यक्ष हरि बहादुर रोकाया, हिमाली गाउँपालिका उपाध्यक्ष राजकला सार्की, सुरक्षा निकायका प्रमुख, विभिन्न राजनीतिक दलका प्रतिनिधि, नेपाल पत्रकार महासंघ बाजुरा तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
बैठकले लामपाटा घटनामा संलग्न व्यक्तिहरूलाई यथाशीघ्र पक्राउ गर्न संघीय सरकारसँग अनुरोध गर्ने तथा पक्राउ प्रक्रियालाई तीव्र बनाउन स्थानीय प्रशासनले गम्भीरतापूर्वक पहल गर्ने निर्णय गरेको छ। साथै घटनाका दोषीहरूलाई पक्राउ नगरेसम्म पीडित पक्षले सञ्चालन गर्ने आन्दोलन तथा राजमार्ग अवरोधजस्ता कार्यक्रमको अवस्थाबारे राजनीतिक दल, जनप्रतिनिधि तथा सरोकारवाला पक्षले सुरक्षा निकायलाई निरन्तर जानकारी गराउने सहमति भएको छ।
बैठकले घटनाबाट प्रभावित तथा विस्थापित बनेका स्थानीय नागरिकहरूको सुरक्षा, पुनर्स्थापना र सम्मानजनक रूपमा घर फर्किने वातावरण निर्माण गर्न आवश्यक पहल गर्ने निर्णय समेत गरेको छ। प्रभावित समुदायको माग र ज्ञापनपत्रका विषयमा विस्तृत छलफल गर्दै सबै पक्षको समन्वय, सहकार्य र सहयोगबाट समस्या समाधानको दिशामा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
सहभागीहरूले सामाजिक सद्भाव, जातीय सहअस्तित्व, कानुनी शासन र मानव अधिकारको सम्मान गर्दै घटनाको निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिएका थिए। बैठकले दोषीलाई कानुनी दायरामा ल्याउने, पीडितलाई न्याय दिलाउने र जिल्लामा शान्ति तथा सामाजिक सद्भाव कायम राख्न सबै पक्ष एकजुट भएर काम गर्ने निष्कर्ष निकालेको छ।
लामपाटा घटनापछि उत्पन्न तनाव र विस्थापनको अवस्थालाई मध्यनजर गर्दै प्रशासन, स्थानीय तह, राजनीतिक दल तथा सुरक्षा निकायबीच थप समन्वय र सहकार्य गरी समस्या समाधान गर्ने निर्णय बैठकले गरेको जनाएको छ।

समाजमा अझै पनि मानवता जीवित छ भन्ने उदाहरण प्रस्तुत गर्दै श्याम सार्की मंगराती र फुलुमाया सार्की मंगरातीद्वारा सञ्चालित श्याम फुलुमाया हस्तकला उद्योग, श्याम फुलुमाया फाउन्डेसन तथा जय महाकाल युवा समूहका संरक्षक आषिश राज पाण्डेय को सहयोगमा बाजुराका विभिन्न पीडित, अशक्त र विपन्न परिवारलाई राहत तथा आर्थिक सहयोग प्रदान गरिने भएको छ।
बाजुराको हिमाली गाउँपालिका–२, कोटस्थित श्री ठुलाकोट माध्यमिक विद्यालय का आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूलाई शैक्षिक सामग्री तथा आवश्यक सहयोग उपलब्ध गराएको छ। विद्यालयका धेरै विद्यार्थीहरू अभावकै बीच पढाइलाई निरन्तरता दिइरहेका बेला आएको यो सहयोगले उनीहरूको अनुहारमा खुसी ल्याउने छ।
त्यसैगरी, अशक्त अवस्थामा जीवनयापन गरिरहेका दाने बोहरा तथा दुवै खुट्टा भाँचिएर पीडामा रहेका जगन्नाथ गाउँपालिकाका एक नागरिकलाई पनि आर्थिक सहयोग प्रदान गरिने भएको छ। दैनिक जीवन चलाउन समेत कठिनाइ भोगिरहेका उनीहरूका लागि यो सहयोग आशाको किरण बनेको छ।
यस्तै, बुढीनन्दा नगरपालिकाका खड्क दमाईँका छोराछोरी र अर्को एक विपन्न परिवारलाई समेत सहयोग उपलब्ध गराइने जानकारी दिइएको छ। अभाव, गरिबी र पीडासँग संघर्ष गरिरहेका ती परिवारका लागि सहयोगले केही राहत मिल्ने अपेक्षा गरिएको छ।
“कसैको आँसु पुछ्न सकियो भने त्यो नै सबैभन्दा ठूलो धर्म हो,” भन्ने भावनाका साथ सहयोग अभियान सञ्चालन गरिएको बताइएको छ। सहयोग वितरण कार्य आगामी केही दिनभित्र सम्पन्न गरिने जनाइएको छ।
बाबु लवासुर टिभीका सञ्चालक नारायण उपाध्यायका अनुसार, समाजका पीडित, असहाय र गरिब परिवारसम्म सहयोग पुर्याउने उद्देश्यले यो अभियान अघि बढाइएको हो।
पीडामा रहेका मानिसहरूका लागि गरिएको यस्तो मानवीय कार्यले समाजमा सहकार्य, सद्भाव र मानवताको सन्देश फैलाएको छ। सहयोगी संस्था र व्यक्तिहरूप्रति स्थानीयवासीले हार्दिक धन्यवाद व्यक्त गरेका छन्।
