२०८३ श्रावण ११ सोमबार
२०८३ श्रावण ११ सोमबार

बाजुरा। स्वामिकार्तिक खापर गाउँपालिका–२ का केही बस्तीमा बालबालिकामा ठेउला (चिकेनपक्स) संक्रमण देखिन थालेपछि स्थानीय स्वास्थ्यकर्मीले विद्यालय र अभिभावकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।

वडा नं. २ का केही बालबालिकामा संक्रमण पुष्टि भएपछि रोग थप फैलिन नदिन वडा भित्रका सबै विद्यालयका शिक्षक–शिक्षिकालाई संक्रमित बालबालिकालाई केही दिन विद्यालय नआउन जानकारी गराइदिन अनुरोध गरिएको छ। साथै संक्रमित बालबालिकालाई घरमै आराम गर्न, प्रशस्त झोलिलो तथा पोषिलो खाना खान, मास्क प्रयोग गर्न र नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरिएको छ।

स्वास्थ्यकर्मी हेमराज न्यौपाने का अनुसार समुदायमा पनि यस्ता लक्षण देखिएका बालबालिकालाई सुरक्षित रूपमा घरमै राखी स्वास्थ्य संस्थासँग नियमित सम्पर्कमा रहन अभिभावकलाई अनुरोध गरिएको छ। समयमै सावधानी अपनाए संक्रमणको फैलावट नियन्त्रण गर्न सहज हुने उहाँले बताउनुभयो।

स्वास्थ्यकर्मीका अनुसार ठेउला एक अत्यन्तै संक्रामक भाइरल रोग हो। यो संक्रमित व्यक्तिको खोकी वा हाछ्युँबाट निस्कने साना थोपाबाट, शरीरमा आएका फोकाभित्रको तरल पदार्थको सम्पर्कबाट तथा संक्रमित व्यक्तिसँग लामो समय नजिक बस्दा सजिलै सर्न सक्छ।

यस रोगका प्रमुख लक्षणमा ज्वरो आउने, शरीर दुख्ने, अत्यधिक थकान महसुस हुने, शरीरभरि राता दाना देखिने, ती दाना पछि पानी भरिएका फोका बन्ने र धेरै चिलाउने समस्या पर्दछन्।

स्वास्थ्यकर्मीले ठेउलाबाट बच्न ठेउलाविरुद्धको खोप लगाउने, संक्रमित व्यक्तिबाट केही समय टाढा रहने, नियमित रूपमा साबुनपानीले हात धुने, खोकी वा हाछ्युँ गर्दा मुख–नाक छोप्ने, व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिने तथा बिरामीले प्रयोग गरेका सामान छुट्टै प्रयोग गर्ने जस्ता स्वास्थ्य मापदण्ड पालना गर्न सबैमा आग्रह गरेका छन्।

स्वास्थ्य संस्थाले संक्रमणको अवस्था निरन्तर निगरानी गरिरहेको जनाउँदै कुनै पनि बालबालिकामा ठेउलासँग मिल्ने लक्षण देखिएमा ढिलाइ नगरी नजिकको स्वास्थ्य संस्थामा पुगेर चिकित्सकीय परामर्श लिन पनि अनुरोध गरेको छ।

साउन १ सन्तोष प्रसाद जोशी

बाजुरा — बुढीनन्दा नगरपालिका–१ स्थित साउनेगाउँमा लगातारको बाढीपहिरोले सिँचाइ, खानेपानी, सडक तथा खेतीयोग्य जमिनमा ठूलो क्षति पुर्‍याएपछि स्थानीयको जनजीवन थप कष्टकर बनेको छ।

२०७८ सालको श्रावणमा आएको बाढीपहिरोले साउनेगाउँको मुख्य सिँचाइ कुलो भत्काएपछि खेतीयोग्य जमिनमा सिँचाइ हुन सकेको छैन। त्यसपछि २०८३ साल जेठ १४ गते आएको अर्को बाढीपहिरोले कुलोमा थप क्षति पुर्‍याउनुका साथै खानेपानीका मुहान, गाउँका बाटाघाटा र खेतीयोग्य जमिनसमेत तहसनहस बनाएको स्थानीयले बताएका छन्।

बाढीपहिरोपछि बुढीनन्दा नगरपालिका र नेपाल प्रहरीले संयुक्त रूपमा क्षतिको मूल्याङ्कन गरी मुचुल्का तयार गरेर नगरपालिकामा बुझाए पनि समस्या समाधान भएको छैन। त्यसपछि नगरपालिकाले प्रभावित प्रत्येक घरधुरीलाई एक–एक कट्टा चामल राहतस्वरूप वितरण गरेको थियो।त्यस्तै सिँचाइको तत्काल व्यवस्थापनका लागि ४८ मिटर पाइप उपलब्ध गराइए पनि पाइप जडानका लागि आवश्यक प्राविधिक र ज्यालादारी व्यवस्थापन नहुँदा सिँचाइ सञ्चालन हुन नसकेको स्थानीयको गुनासो छ।

स्थानीय लक्ष्मण जोशीले साउनेगाउँमा श्रावण १ गते विशेष पर्वका रूपमा मनाउने परम्परा रहेको बताउनुभयो। पुर्खाहरूले गाउँको सम्पूर्ण जिउलो (धानखेत) एकै दिन रोप्ने चलन रहेकाले गाउँको नाम नै ‘साउनेगाउँ’ रहन गएको इतिहास रहेको उहाँले बताउनुभयो। रोपाइँका बेला आफन्त, छरछिमेक र इष्टमित्रलाई बोलाई मिठा परिकार खाने तथा साँझ देउडा, नाटक र अन्य सांस्कृतिक कार्यक्रम गरेर रमाइलो गर्ने परम्परा अहिले सम्झनामै सीमित भएको उहाँको भनाइ छ।

“विगत पाँच वर्षदेखि कुलोमा पानी नआउँदा धान रोप्नै सकेका छैनौं। धान फल्ने खेतमा अहिले जनालो, कोदो, मकै र भटमास छर्न बाध्य भएका छौं। गाउँका बुढापाका खुसी मनाउने दिनमै निराश छन्। खानेपानीको अभाव उस्तै छ, बाटाघाटा हिँड्नै नमिल्ने अवस्थामा छन्। सरकार निरीहजस्तो देखिन्छ, जनता निराश बनेका छन्,” स्थानीय लक्ष्मण जोशीले बताउनुभयो।

स्थानीयले सिँचाइ कुलोको स्थायी पुनर्निर्माण, खानेपानी र सडक पूर्वाधारको तत्काल पुनःस्थापना गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। समयमै आवश्यक पूर्वाधार पुनर्निर्माण नभए साउनेगाउँको ऐतिहासिक रोपाइँ संस्कृति मात्र नभएर कृषि उत्पादन र स्थानीयको जीविकोपार्जनसमेत थप संकटमा पर्ने देखिएको छ।

असार ३० सन्तोष प्रसाद जोशी

त्रिभुवन राजपथअन्तर्गत नागढुंगामा मंगलबार राति खसेको पहिरो पन्छाइएपछि अवरुद्ध सवारी आवागमन पुनः सञ्चालनमा आएको छ। मंगलबार राति करिब १२ बजेदेखि सडक अवरुद्ध भएपछि काठमाडौं भित्रिने तथा बाहिरिने सवारीसाधनलाई प्रहरीले सुरक्षाका दृष्टिले विभिन्न स्थानमा रोकेको थियो। त्यसक्रममा पूर्व–पश्चिम राजमार्गको दुम्किबास क्षेत्रमा पनि काठमाडौंतर्फ जाने सवारीसाधन रोकिएका थिए।
नागढुंगाको पहिरो हटाएर सडक खुलाएपछि बुधबार बिहान करिब ८ बजेदेखि दुम्किबासमा रोकिएका सवारीसाधनलाई पनि गन्तव्यतर्फ पठाउन थालिएको छ। रातिदेखि लामो समय रोकिएका सवारी अहिले सञ्चालनमा आएका छन्। प्रहरीले वर्षायाममा बाढी र पहिरोको जोखिम उच्च रहेकाले यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरेको छ।
यता, लगातार दुई दिनदेखि परेको वर्षाका कारण पर्वत, स्याङ्जा र गुल्मी जिल्लाको सङ्गमस्थलमा रहेको विश्वकै ठूलो शालिग्राम शिला डुबानमा परेको छ। कालीगण्डकी नदी र सेतीखोलाको जलसतह बढेपछि शिलासम्म पुग्ने बाटो, नजिकै रहेको सत्तल तथा परिक्रमा स्थलसमेत पानीले ढाकेको शालिग्राम विद्याश्रमका संरक्षक कुलराज तिवारीले जानकारी दिनुभयो।
उहाँका अनुसार कालीगण्डकी नदीको बहाव बढेसँगै शालिग्राम शिला पूर्ण रूपमा डुबानमा परेको हो। निरन्तर वर्षाका कारण देशका विभिन्न स्थानमा नदी तथा खोलाको बहाव बढिरहेको भन्दै सम्बन्धित निकायले जोखिमयुक्त क्षेत्रमा सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।

सन्तोष प्रसाद जोशी असार २७ – बाजुराको हिमाली गाउँपालिकाले ग्रामीण भेगका नागरिकलाई सहज, सुलभ र गुणस्तरीय आँखा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले धुलाचौरमा ‘धुलाचौर आँखा उपचार केन्द्र’ सञ्चालनमा ल्याउने भएको छ।
हिमाली गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार नेपाल रेडक्रस सोसाइटी आँखा अस्पताल सुर्खेत र च्यारिटी फाउन्डेसन नेपालको साझेदारीमा धुलाचौर आधारभूत स्वास्थ्य सेवा केन्द्रमा स्थापना गरिएको आँखा उपचार केन्द्रको औपचारिक उद्घाटन असार २९ गते सोमबार बिहान १० बजे गरिनेछ।
उद्घाटनकै अवसरमा स्थानीय नागरिकका लागि निःशुल्क आँखा परीक्षण तथा परामर्श सेवा सञ्चालन गरिनेछ। साथै सोही दिनदेखि केन्द्रबाट नियमित रूपमा आँखा परीक्षण र उपचार सेवा पनि सुरु हुने भएकाले आँखासम्बन्धी समस्या भएका नागरिकलाई सेवा लिन गाउँपालिकाले आग्रह गरेको छ।
यस केन्द्र सञ्चालनमा आएपछि सामान्य आँखा उपचारका लागि जिल्ला बाहिर वा टाढाका अस्पताल धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ। दुर्गम क्षेत्रका नागरिकलाई आफ्नै गाउँपालिकाबाट नियमित आँखा स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यसहित केन्द्र स्थापना गरिएको गाउँपालिकाले जनाएको छ।
हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुल बहादुर थापाले असार २९ गते हुने उद्घाटन कार्यक्रममा जनप्रतिनिधि, बुद्धिजीवी, राष्ट्रसेवक कर्मचारी, पत्रकार तथा सर्वसाधारण नागरिकलाई उपस्थित भई कार्यक्रम सफल बनाउन आग्रह गर्नुभएको छ। उहाँले उद्घाटनसँगै हिमाली गाउँपालिकाका नागरिकले आफ्नै पालिकामा नियमित आँखा परीक्षण, परामर्श तथा उपचार सेवा प्राप्त गर्ने बताउनुभयो।

सन्तोष प्रसाद जोशी

२०८३ असार २५

बाजुरा । दुर्गम क्षेत्रका नागरिकलाई सूचना तथा सञ्चार प्रविधिमा सहज पहुँच उपलब्ध गराउने उद्देश्यले बाजुराको हिमाली गाउँपालिकाले निःशुल्क (Free WiFi) इन्टरनेट सेवा सञ्चालनमा ल्याएको छ।

गाउँपालिकाले एभरेस्ट इन्टरनेटसँगको सहकार्यमा गाउँपालिका कार्यालय परिसरमा निःशुल्क (Free WiFi) सेवा सञ्चालनमा ल्याएको हो।

गाउँपालिका कार्यालय परिसरमा जडान गरिएको उच्च गतिको वाईफाई सेवाबाट सेवाग्राही, विद्यार्थी, शिक्षक, कर्मचारी, पत्रकार तथा स्थानीय बासिन्दाले निःशुल्क इन्टरनेट प्रयोग गर्न पाईरहेका छ्न। गाउँपालिकाले डिजिटल सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने र नागरिकलाई अनलाइन सेवामा पहुँच बढाउने लक्ष्यसहित यो सेवा विस्तार गरेको जनाएको छ। यसबाट गाउँपालिकाले सूचना प्रविधिमैत्री स्थानीय सरकार निर्माणतर्फ थप एक महत्वपूर्ण कदम चालेको गाउँपालिकामा कार्यरत इलेक्ट्रीसियन राज मलाल बताउनुभएको छ।

गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत कुल थापाले आगामी दिनमा आवश्यकताअनुसार सार्वजनिक स्थान तथा अन्य वडामा समेत निःशुल्क वाईफाई सेवा विस्तार गर्ने योजना रहेको छ। यस सेवाले विद्यार्थीको अध्ययन, सरकारी सेवा प्राप्ति, अनलाइन फाराम भर्ने, सूचना आदानप्रदान तथा डिजिटल साक्षरतामा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।

पन्चेबाजा

२३ जेठ २०८३

सन्तोष प्रसाद जोशी

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाले स्थानीय कला, संस्कृति तथा परम्परागत बाजा संरक्षण गर्ने उद्देश्यले १ लाख ३० हजार रुपैयाँ बराबरको पञ्चेबाजा वितरण गरेको छ।

गाउँपालिकाको अनुदान तथा पालिका स्तरीय खलिया समाजको नाममा विनियोजित बजेटबाट दमाहा, नरसिंहा, सहनाई लगायतका पञ्चेबाजाका सामग्री खरिद गरी खलिया समाजलाई हस्तान्तरण गरिएको हो।

पालिका स्तरीय खलिया समाजका अध्यक्ष गोर्खे कामीका अनुसार गाउँपालिकाको सहयोगमा आवश्यक पञ्चेबाजाका सामग्री खरिद गरी समुदायको हितका लागि उपलब्ध गराइएको हो।

खलिया समाज, स्वामीकार्तिक खापर गाउँपालिकाका सचिव धन दमाईले गाउँपालिकाभित्र जुनसुकै स्थानमा धार्मिक, सामाजिक तथा सांस्कृतिक कार्यक्रम आयोजना हुँदा यी पञ्चेबाजा आवश्यकताअनुसार प्रयोग गरिने बताउनुभयो। यसबाट समुदायमा एकता बढ्नुका साथै मौलिक संस्कृतिको संरक्षणमा समेत टेवा पुग्ने उहाँको भनाइ छ।

गाउँपालिकाले स्थानीय संस्कार, संस्कृति र मौलिक पहिचान जोगाउने उद्देश्यले हरेक वर्ष यस्ता कार्यक्रमका लागि बजेट व्यवस्थापन गर्दै आएको जनाएको छ। पञ्चेबाजा वितरणसँगै परम्परागत बाजा संरक्षण, नयाँ पुस्तामा यसको हस्तान्तरण तथा सांस्कृतिक सम्पदाको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

२०८३ जेठ २२

सन्तोष प्रसाद जोशी

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाले दिवंगत पूर्व उपाध्यक्ष स्वर्गीय मैना जोशीको योगदानको सम्मानस्वरूप ‘स्वर्गीय मैना जोशी स्मृति सम्मान–२०८३’ स्थापना गरेको छ। गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, सामाजिक सेवा, सुशासन तथा स्थानीय विकासलगायत विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्ति तथा संस्थालाई हरेक वर्ष सम्मान गर्ने उद्देश्यका साथ यो सम्मानको सुरुवात गरेको हो।

सोमबार दिउँसो एक कार्यक्रमका बीच उक्त कार्यक्रम गरिएको छ।गाउँपालिकाका सूचना अधिकारी कुमेर बहादुर शाहीका अनुसार स्वर्गीय मैना जोशीको नाममा अक्षय कोष स्थापना गरी स्मृति सम्मान सञ्चालन गरिएको हो। उहाँको जीवन र योगदानलाई संस्थागत रूपमा संरक्षण तथा प्रवर्द्धन गर्न प्रतिष्ठान स्थापना गरी सम्बन्धित निकायमा दर्ता गर्ने प्रक्रिया समेत अघि बढाइएको गाउँपालिका अध्यक्ष भरत बहादुर रोकायाले जानकारी दिनुभयो।

स्वर्गीय मैना जोशी २०७९ सालको स्थानीय तह निर्वाचनबाट स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो। जनप्रतिनिधिका रूपमा उहाँले महिला सशक्तीकरण, सामाजिक विकास, शिक्षा, सुशासन तथा जनसेवाका क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउनुभएको थियो। उहाँको २०८० साल माघ ४ गते क्यान्सर रोगका कारण निधन भएको थियो। उहाँको जन्म स्वामीकार्तिक खापर गाउँपालिका–३, जुकोटमा भएको थियो।

गाउँपालिका अध्यक्ष रोकायाले स्वर्गीय जोशीको सेवा, समर्पण र इमान्दारितालाई भावी पुस्ताका लागि प्रेरणाको स्रोत बनाउने उद्देश्यले स्मृति सम्मान स्थापना गरिएको बताउनुभयो। उहाँले आगामी वर्षहरूमा यस सम्मानलाई जिल्लाकै प्रतिष्ठित सम्मानका रूपमा विकास गर्ने लक्ष्य रहेको पनि उल्लेख गर्नुभयो।

यस वर्षको स्वर्गीय मैना जोशी स्मृति सम्मान–२०८३ अन्तर्गत गाउँपालिकामा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै लेखा अधिकृत दिलिप कुमार शाही तथा स्वामीकार्तिक माध्यमिक विद्यालय, वाईमा कार्यरत शिक्षक हिक्मत बहादुर थापालाई नगद पुरस्कार, सम्मानपत्र र दोसल्लासहित सम्मान गरिएको छ।

सम्मान समारोहका प्रमुख अतिथि राम बहादुर बोहरा, बुढीनन्दा नगरपालिकाका उपप्रमुख रहनुभएको थियो। विशेष अतिथिका रूपमा स्वामीकार्तिक खापर गाउँपालिकाका तत्कालीन अध्यक्ष चिरञ्जीवी शाही सहभागी हुनुभएको थियो। कार्यक्रमको सञ्चालन शिक्षक नहकुल जोशीले गर्नुभएको थियो।

कार्यक्रममा वक्ताहरूले स्वर्गीय मैना जोशीले छोटो समयमै जनप्रतिनिधिका रूपमा पुर्‍याएको योगदानलाई स्मरण गर्दै उहाँको नाममा स्थापना गरिएको सम्मानले समाजमा उत्कृष्ट काम गर्ने व्यक्तिहरूलाई थप प्रेरणा दिने विश्वास व्यक्त गरे। उनीहरूले असल कामको सम्मान गर्ने संस्कृतिले समाजमा सकारात्मक परिवर्तन ल्याउने र नयाँ पुस्तालाई सेवा र समर्पणको बाटोमा अघि बढ्न उत्प्रेरित गर्ने धारणा राखेका थिए।

“असल कामको सम्मान, प्रेरणाको अभियान — स्वर्गीय मैना जोशी स्मृति सम्मान–२०८३” भन्ने मूल नारासहित सुरु गरिएको यो अभियानले स्वर्गीय मैना जोशीको योगदानलाई चिरस्थायी बनाउँदै समाजमा उत्कृष्ट कार्यको सम्मान गर्ने संस्कृतिलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

सन्तोष प्रसाद जोशी

बाजुरा। जीवनमा सबैभन्दा ठूलो सहारा आमाबुबा नै हुन्छन्। तर बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–४ फैता गाउँका दुई निर्दोष दिदीबहिनीको भाग्यले त्यो अमूल्य सहारा सानै उमेरमै खोस्यो। बुवाको मृत्युले टुहुरा बनेका उनीहरू आमाले दोस्रो विवाह गरेपछि फेरि आमाको माया र साथबाट पनि टाढिन बाध्य भए। अहिले उनीहरूको बाल्यकाल अभाव, आँसु र एक्लोपनको पर्याय बनेको छ।

२०७५ साल कार्तिकमा बिरेश जोशीको असामयिक निधनसँगै परिवारमाथि दुःखको कालो बादल मडारियो। श्रीमान् गुमाएपछि आमा तारा जोशीले दोस्रो विवाह गरिन्। त्यसपछि एउटै कोखबाट जन्मिएका दुई नानीको जीवन दुई फरक दिशामा बग्न पुग्यो।

१० वर्षीया जेठी छोरी समीता जोशी अहिले बडीमालिका नगरपालिका–७ रजातोलीस्थित मावली घरमा बस्दै आएकी छन्। उनको सहारा बनेकी छन् आँखा नदेख्ने वृद्ध बज्यै बिस्नकला पाध्याय। आफैंलाई हिँडडुल गर्न अरूको सहारा चाहिने अवस्थामा रहेकी ती वृद्धाले नातिनीलाई आफ्नो काखमा राखेर हुर्काइरहेकी छन्।

बज्यैको आवाज सुन्ने जोकोहीको मन भक्कानिन्छ। उनी भन्छिन्, “छोरीकी छोरीलाई आफ्नै सन्तान सम्झेर हुर्काएँ। तर अब आँखा पनि देख्दिनँ। भोलि म रहेँ भने उसलाई कसले पढाउँछ? कसले खुवाउँछ? यही चिन्ताले रातभर निद्रा लाग्दैन।”

उता ८ वर्षीया कान्छी बहिनी सुस्मीता जोशी भने आमाले दोस्रो विवाह गरेको हिमाली गाउँपालिका–६ बोल्डिकमा आमासँग बस्दै आएकी छन्। एउटै आमाको कोखबाट जन्मिएका दिदीबहिनी आज एउटै घरमा बसेर सँगै खेल्न, सँगै पढ्न र सँगै हाँस्न पनि पाएका छैनन्। उनीहरूको बाल्यकाल परिवार विखण्डनको पीडाले टुक्राटुक्रा बनेको छ।

खेल्ने, रमाउने, विद्यालयमा साथीहरूसँग भविष्यका सपना बुन्नुपर्ने उमेरमा यी दुई नानी जीवनको कठोर यथार्थसँग संघर्ष गरिरहेका छन्। बुबाको मायालु हात सधैंका लागि छुट्यो, आमाको काख पनि टाढियो। उनीहरूको अनुहारमा उमेरभन्दा धेरै पीडा देखिन्छ, आँखामा अनगिन्ती प्रश्न छन्—“हाम्रो दोष के थियो?”

स्थानीय आफन्तहरूका अनुसार यी बालिकाको शिक्षा, पालनपोषण, संरक्षण र सुरक्षित भविष्यका लागि सरकारी निकाय, बालअधिकारसँग सम्बन्धित संघसंस्था तथा सहयोगी मन भएका सबैले तत्काल चासो दिनुपर्ने अवस्था छ। उनीहरूलाई उचित संरक्षण र शिक्षाको व्यवस्था हुन सके मात्र उनीहरूको भविष्य उज्यालो बन्न सक्छ।

आज यी दुई निर्दोष बालिकाको आँखामा अझै एउटा सानो आशा बाँकी छ—सायद कसैले उनीहरूको पीडा बुझिदेला, सायद कसैले उनीहरूको टुटेको बाल्यकाललाई फेरि मुस्कानले भरिदेला। किनकि हरेक बालबालिकाले आमाबुबाको माया, सुरक्षित घर र उज्यालो भविष्य पाउने अधिकार राख्छन्। तर यी दुई दिदीबहिनीको जीवन भने आज पनि एउटा प्रश्न बनेर समाजको सामु उभिएको छ।

oplus_8388640

बाजुरा। जगन्नाथ गाउँपालिकाले आर्थिक वर्ष २०७६/७७ देखि २०८२/८३ सम्म प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत सञ्चालन गरेका विकास निर्माणका १४९ वटा योजना सफलतापूर्वक सम्पन्न गरेको छ। उक्त अवधिमा १ हजार १ सय ६४ जना बेरोजगार नागरिकले स्थानीय स्तरमै रोजगारीको अवसर प्राप्त गरेका छन्।
गाउँपालिकाका रोजगार संयोजक लक्ष्मण जोशीका अनुसार कार्यक्रमअन्तर्गत श्रमिकलाई ज्याला वापत कुल ६ करोड २६ लाख ४८ हजार रुपैयाँ सीधै उनीहरूको व्यक्तिगत बैंक खातामा भुक्तानी गरिएको छ। बैंकिङ प्रणालीमार्फत गरिएको भुक्तानीले पारदर्शिता, उत्तरदायित्व र वित्तीय अनुशासन कायम गर्न महत्वपूर्ण योगदान पुगेको उहाँले बताउनुभयो।
प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत गाउँपालिकामा सडक, पदमार्ग, सिँचाइ, खानेपानी, तटबन्ध, सार्वजनिक संरचनाको संरक्षण तथा अन्य श्रममूलक पूर्वाधार निर्माणका योजना सञ्चालन गरिएका थिए। यी योजनाले स्थानीय पूर्वाधार विकासलाई गति दिनुका साथै बेरोजगार नागरिकलाई आफ्नै गाउँठाउँमा आयआर्जन गर्ने अवसर उपलब्ध गराएको गाउँपालिकाको भनाइ छ।
रोजगार संयोजक जोशीले रोजगार कार्यक्रमले वैदेशिक रोजगारीमा निर्भरता घटाउन, स्थानीय श्रमशक्तिको सदुपयोग गर्न तथा ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउन सकारात्मक भूमिका खेलेको उल्लेख गर्नुभयो। आगामी वर्षहरूमा पनि स्थानीय आवश्यकताअनुसार थप श्रममूलक योजना सञ्चालन गरी बढीभन्दा बढी नागरिकलाई रोजगारीमा जोड्ने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो।
स्थानीय तहमा सञ्चालन भएको रोजगार कार्यक्रमले विकास निर्माण र रोजगारी सिर्जनालाई एकसाथ अघि बढाउँदै नागरिकको जीवनस्तर सुधारमा उल्लेखनीय योगदान पुर्‍याइरहेको गाउँपालिकाले जनाएको छ।

बाजुरा, असार १५ — बाजुराको जगन्नाथ गाउँपालिकाले २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८३ भव्य रूपमा मनाएको छ। “जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि” भन्ने राष्ट्रिय नाराका साथ गाउँपालिका अन्तर्गत जुड्डी जिउलामा विशेष कार्यक्रम आयोजना गरी सामूहिक रूपमा धान रोपाइँ गरिएको हो।
आज असार १५ अर्थात् “मानो रोपेर मुरी उब्जाउने” दिनका रूपमा परिचित छ। किसानका लागि यो दिन विशेष महत्व बोकेको दिन हो। असार १५ मा धान रोपाइँ सम्पन्न गरेपछि दही–चिउरा खाने परम्पराले नेपाली कृषि संस्कृतिलाई झल्काउने गरेको छ।
कृषिमा बढ्दो परनिर्भरता घटाई धान उत्पादन र उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले नेपाल सरकारले २०६१ सालदेखि प्रत्येक वर्ष असार १५ गते राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउँदै आएको छ। यस वर्ष देशभर २३औँ राष्ट्रिय धान दिवस विविध कार्यक्रमका साथ मनाइएको हो।
जगन्नाथ गाउँपालिकाको कृषि शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि, गाउँपालिकाका कर्मचारी, कृषक, स्थानीयवासी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले सामूहिक रूपमा धान रोप्दै कृषि पेशाप्रति सम्मान व्यक्त गरेका थिए।
गाउँपालिकाका कृषि शाखा प्रमुख निरेश कटेलका अनुसार यस वर्षको धान दिवस तथा रोपाइँ महोत्सवको मुख्य कार्यक्रम गाउँपालिका अन्तर्गतको जुड्डी जिउलामा आयोजना गरिएको हो। कार्यक्रममा जलवायुमैत्री कृषि प्रविधिको प्रयोग, धान उत्पादन वृद्धि र कृषि क्षेत्रमा आत्मनिर्भरता हासिल गर्ने विषयमा समेत जोड दिइएको उहाँले बताउनुभयो।
गाउँपालिकाका सूचना अधिकारी राजेन्द्र प्रसाद जोशीले धान दिवसले कृषिप्रति युवाको आकर्षण बढाउने, किसानलाई प्रोत्साहन गर्ने तथा परम्परागत कृषि संस्कृतिको संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार गाउँपालिकाले आगामी दिनमा पनि कृषि उत्पादन वृद्धि र किसानमुखी कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउनेछ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।