२०८३ श्रावण १० आईतवार
२०८३ श्रावण १० आईतवार

पाँच वर्षदेखि साउनेगाउँमा रोपाईं भएन, बाढीपहिरोपछि सिँचाइ, खानेपानी र बाटोको समस्या झन् चर्कियो

साउन १ सन्तोष प्रसाद जोशी

बाजुरा — बुढीनन्दा नगरपालिका–१ स्थित साउनेगाउँमा लगातारको बाढीपहिरोले सिँचाइ, खानेपानी, सडक तथा खेतीयोग्य जमिनमा ठूलो क्षति पुर्‍याएपछि स्थानीयको जनजीवन थप कष्टकर बनेको छ।

२०७८ सालको श्रावणमा आएको बाढीपहिरोले साउनेगाउँको मुख्य सिँचाइ कुलो भत्काएपछि खेतीयोग्य जमिनमा सिँचाइ हुन सकेको छैन। त्यसपछि २०८३ साल जेठ १४ गते आएको अर्को बाढीपहिरोले कुलोमा थप क्षति पुर्‍याउनुका साथै खानेपानीका मुहान, गाउँका बाटाघाटा र खेतीयोग्य जमिनसमेत तहसनहस बनाएको स्थानीयले बताएका छन्।

बाढीपहिरोपछि बुढीनन्दा नगरपालिका र नेपाल प्रहरीले संयुक्त रूपमा क्षतिको मूल्याङ्कन गरी मुचुल्का तयार गरेर नगरपालिकामा बुझाए पनि समस्या समाधान भएको छैन। त्यसपछि नगरपालिकाले प्रभावित प्रत्येक घरधुरीलाई एक–एक कट्टा चामल राहतस्वरूप वितरण गरेको थियो।त्यस्तै सिँचाइको तत्काल व्यवस्थापनका लागि ४८ मिटर पाइप उपलब्ध गराइए पनि पाइप जडानका लागि आवश्यक प्राविधिक र ज्यालादारी व्यवस्थापन नहुँदा सिँचाइ सञ्चालन हुन नसकेको स्थानीयको गुनासो छ।

स्थानीय लक्ष्मण जोशीले साउनेगाउँमा श्रावण १ गते विशेष पर्वका रूपमा मनाउने परम्परा रहेको बताउनुभयो। पुर्खाहरूले गाउँको सम्पूर्ण जिउलो (धानखेत) एकै दिन रोप्ने चलन रहेकाले गाउँको नाम नै ‘साउनेगाउँ’ रहन गएको इतिहास रहेको उहाँले बताउनुभयो। रोपाइँका बेला आफन्त, छरछिमेक र इष्टमित्रलाई बोलाई मिठा परिकार खाने तथा साँझ देउडा, नाटक र अन्य सांस्कृतिक कार्यक्रम गरेर रमाइलो गर्ने परम्परा अहिले सम्झनामै सीमित भएको उहाँको भनाइ छ।

“विगत पाँच वर्षदेखि कुलोमा पानी नआउँदा धान रोप्नै सकेका छैनौं। धान फल्ने खेतमा अहिले जनालो, कोदो, मकै र भटमास छर्न बाध्य भएका छौं। गाउँका बुढापाका खुसी मनाउने दिनमै निराश छन्। खानेपानीको अभाव उस्तै छ, बाटाघाटा हिँड्नै नमिल्ने अवस्थामा छन्। सरकार निरीहजस्तो देखिन्छ, जनता निराश बनेका छन्,” स्थानीय लक्ष्मण जोशीले बताउनुभयो।

स्थानीयले सिँचाइ कुलोको स्थायी पुनर्निर्माण, खानेपानी र सडक पूर्वाधारको तत्काल पुनःस्थापना गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। समयमै आवश्यक पूर्वाधार पुनर्निर्माण नभए साउनेगाउँको ऐतिहासिक रोपाइँ संस्कृति मात्र नभएर कृषि उत्पादन र स्थानीयको जीविकोपार्जनसमेत थप संकटमा पर्ने देखिएको छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।