
बाजुरा। स्वामिकार्तिक खापर गाउँपालिका–२ का केही बस्तीमा बालबालिकामा ठेउला (चिकेनपक्स) संक्रमण देखिन थालेपछि स्थानीय स्वास्थ्यकर्मीले विद्यालय र अभिभावकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।

वडा नं. २ का केही बालबालिकामा संक्रमण पुष्टि भएपछि रोग थप फैलिन नदिन वडा भित्रका सबै विद्यालयका शिक्षक–शिक्षिकालाई संक्रमित बालबालिकालाई केही दिन विद्यालय नआउन जानकारी गराइदिन अनुरोध गरिएको छ। साथै संक्रमित बालबालिकालाई घरमै आराम गर्न, प्रशस्त झोलिलो तथा पोषिलो खाना खान, मास्क प्रयोग गर्न र नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरिएको छ।
स्वास्थ्यकर्मी हेमराज न्यौपाने का अनुसार समुदायमा पनि यस्ता लक्षण देखिएका बालबालिकालाई सुरक्षित रूपमा घरमै राखी स्वास्थ्य संस्थासँग नियमित सम्पर्कमा रहन अभिभावकलाई अनुरोध गरिएको छ। समयमै सावधानी अपनाए संक्रमणको फैलावट नियन्त्रण गर्न सहज हुने उहाँले बताउनुभयो।
स्वास्थ्यकर्मीका अनुसार ठेउला एक अत्यन्तै संक्रामक भाइरल रोग हो। यो संक्रमित व्यक्तिको खोकी वा हाछ्युँबाट निस्कने साना थोपाबाट, शरीरमा आएका फोकाभित्रको तरल पदार्थको सम्पर्कबाट तथा संक्रमित व्यक्तिसँग लामो समय नजिक बस्दा सजिलै सर्न सक्छ।
यस रोगका प्रमुख लक्षणमा ज्वरो आउने, शरीर दुख्ने, अत्यधिक थकान महसुस हुने, शरीरभरि राता दाना देखिने, ती दाना पछि पानी भरिएका फोका बन्ने र धेरै चिलाउने समस्या पर्दछन्।
स्वास्थ्यकर्मीले ठेउलाबाट बच्न ठेउलाविरुद्धको खोप लगाउने, संक्रमित व्यक्तिबाट केही समय टाढा रहने, नियमित रूपमा साबुनपानीले हात धुने, खोकी वा हाछ्युँ गर्दा मुख–नाक छोप्ने, व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिने तथा बिरामीले प्रयोग गरेका सामान छुट्टै प्रयोग गर्ने जस्ता स्वास्थ्य मापदण्ड पालना गर्न सबैमा आग्रह गरेका छन्।
स्वास्थ्य संस्थाले संक्रमणको अवस्था निरन्तर निगरानी गरिरहेको जनाउँदै कुनै पनि बालबालिकामा ठेउलासँग मिल्ने लक्षण देखिएमा ढिलाइ नगरी नजिकको स्वास्थ्य संस्थामा पुगेर चिकित्सकीय परामर्श लिन पनि अनुरोध गरेको छ।




