२०८३ असार १० बुधबार
२०८३ असार १० बुधबार

बाजुरा, असार ७ — धनगढीबाट बाजुरातर्फ आउँदै गरेको पवनदूत यातायातको बस आइतबार बिहान बुढीगंगा नगरपालिका–१० स्थित मालिका बजार नजिक दुर्घटनामा परेको छ। दुर्घटनामा परी प्रारम्भिक जानकारीअनुसार २३ जना यात्रु घाइते भएका छन्।
सु.प.प्र. १३५५ नम्बरको उक्त बस बिहान करिब ७ः२० बजे ब्रेक फेल भएपछि अनियन्त्रित भई दुर्घटनामा परेको बताइएको छ। दुर्घटनालगत्तै स्थानीय बासिन्दा, व्यापारी, नेपाल प्रहरी, यातायात व्यवसायी तथा जनप्रतिनिधिहरूको सक्रिय सहयोगमा उद्धार कार्य सञ्चालन गरिएको थियो।
घाइते यात्रुहरूलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल बाजुरा तथा बयालपाटा अस्पताल अछाम पठाइएको छ। केही घाइतेको अवस्था सामान्य रहेको र अन्यको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि केही समय सडक क्षेत्रमा आवागमन प्रभावित भए पनि उद्धार टोलीले तत्काल व्यवस्थापन गरेको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको र दुर्घटनाको विस्तृत विवरण सङ्कलन भइरहेको सम्बन्धित निकायले जनाएको छ।
स्थानीयवासीले समयमै उद्धार कार्य सम्पन्न भएकाले ठूलो मानवीय क्षति हुन नपाएको बताएका छन्। दुर्घटनाले यात्रु तथा उनका आफन्तलाई चिन्तित बनाएको छ भने घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।

सरस्वती जोशी,

बाजुरा जिल्लाको हिमाली गाउँपालिका–७ बाधुँमा वर्षौंदेखि सञ्चालन हुँदै आएको कुलो सोराई मेला यस वर्ष पनि भव्य रूपमा सम्पन्न भएको छ। कृषि, संस्कृति, धार्मिक आस्था, खेलकुद र सामाजिक एकताको अनुपम संगमका रूपमा परिचित यो मेला स्थानीय समुदायको साझा पहिचान र गौरवका रूपमा स्थापित हुँदै आएको छ।
स्थानीय समाजसेवी दिपचन्द्र उपाध्यायका अनुसार प्रत्येक वर्ष असार २ गतेदेखि १० गतेसम्म शुभ साइत पारेर कुलो सोराई मेला आयोजना गरिने परम्परा रहिआएको छ। पहाडी क्षेत्रमा कृषि मुख्य पेशा भएकाले सिँचाइका लागि कुलोको विशेष महत्व रहने गर्दछ। खेतीपातीको मौसम सुरु हुनुअघि गाउँलेहरू सामूहिक रूपमा भेला भएर कुलोको सरसफाइ, मर्मत तथा पानी व्यवस्थापन गर्ने परम्पराबाट सुरु भएको यो अभियान समयसँगै विशाल सांस्कृतिक मेलाका रूपमा विकास भएको हो।
मेलाले सामूहिक श्रम, सहयोग र एकताको भावनालाई मजबुत बनाउँदै आएको छ। गाउँका सबै वर्ग र समुदायका मानिसहरू एकै ठाउँमा भेला भएर कुलो संरक्षणसँगै सामाजिक सम्बन्ध सुदृढ गर्ने अवसरका रूपमा यसलाई लिने गरेका छन्। यही कारण कुलो सोराई मेला बाधुँको मात्र नभई समग्र हिमाली क्षेत्रको सांस्कृतिक पहिचान बन्न सफल भएको छ।
मेलाको मुख्य आकर्षण देउडा कार्यक्रम हो। स्थानीय कलाकार, युवा तथा ज्येष्ठ नागरिकहरू परम्परागत भेषभूषामा सजिएर देउडा खेल्ने, गीत गाउने र आफ्ना मौलिक संस्कार तथा संस्कृति प्रदर्शन गर्ने गर्दछन्। देउडाका माध्यमबाट प्रेम, समाज, राजनीति, विकास, संस्कृति र जनजीवनका विविध पक्षलाई गीतमा उतारिने भएकाले यसले पुस्तान्तरणमा महत्वपूर्ण भूमिका खेलेको छ। पुराना पुस्ताले संरक्षण गर्दै आएको मौलिक संस्कृतिलाई नयाँ पुस्तासम्म पुर्‍याउन कुलो सोराई मेलाले उल्लेखनीय योगदान दिएको स्थानीयवासीहरूको भनाइ छ।
पछिल्ला वर्षहरूमा मेलाको अर्को प्रमुख आकर्षण भलिबल प्रतियोगिता बन्दै गएको छ। प्रतियोगितामा हिमाली गाउँपालिका सहित बाजुराका विभिन्न क्षेत्र तथा छिमेकी जिल्लाका टोलीहरूको उत्साहजनक सहभागिता रहने गरेको छ। खेलकुदमार्फत युवाहरूमा अनुशासन, नेतृत्व क्षमता, आपसी सद्भाव र स्वस्थ प्रतिस्पर्धाको भावना विकास भएको स्थानीयहरू बताउँछन्। प्रतियोगिता हेर्न ठूलो संख्यामा दर्शकहरूको उपस्थितिले मेलालाई अझ जीवन्त बनाउने गरेको छ।
मेलाको अवसरमा स्थानीय देवीदेवताहरूको पूजा–आराधना, गाउँको सुख, शान्ति र समृद्धिको कामना, शुभकामना आदानप्रदान तथा स्थानीय उत्पादनहरूको प्रदर्शन र बिक्री वितरणसमेत हुने गरेको छ। यसले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउनुका साथै गाउँ छोडेर देश तथा विदेशमा रहेका स्थानीयलाई गाउँ फर्काएर आफन्तसँग पुनर्मिलन गराउने अवसरसमेत प्रदान गर्ने गरेको छ।
हिमाली गाउँपालिका–७ का वडा अध्यक्ष टपेन्द्र शाहीले कुलो सोराई मेला एउटा मनोरञ्जनको कार्यक्रम नभई गाउँको इतिहास, पहिचान र सामाजिक एकताको प्रतीक भएको बताउनुभयो। उहाँले भन्नुभयो, “हाम्रा पुर्खाले संरक्षण गरेर हस्तान्तरण गरेको यो अमूल्य सम्पदालाई जोगाउनु हामी सबैको दायित्व हो। कुलो सोराई मेलाले गाउँका दाजुभाइ, दिदीबहिनीबीचको सम्बन्धलाई अझ बलियो बनाएको छ। देउडा संस्कृति, कृषि परम्परा र खेलकुदलाई एकै ठाउँमा जोड्ने यस्तो मेलाले हाम्रो मौलिक पहिचान जोगाउन ठूलो भूमिका खेलेको छ।”
वडा अध्यक्ष शाहीले मेलालाई निरन्तर चर्चित र जीवन्त बनाउन योगदान पुर्‍याउने ख्यातिप्राप्त देउडा कलाकार, खेलाडी तथा पत्रकारहरूलाई सम्मानस्वरूप सानो सम्झना प्रदान गरिएको जानकारी दिनुभयो। उहाँले “समाज, संस्कृति र स्थानीय पहिचान संरक्षणमा योगदान पुर्‍याउने व्यक्तिहरूको सम्मानले आगामी पुस्तालाई पनि प्रेरणा मिल्ने विश्वास” व्यक्त गर्नुभयो।
स्थानीयवासीहरूका अनुसार आधुनिकताको प्रभाव बढ्दै गए पनि बाधुँको कुलो सोराई मेला आफ्नो मौलिकता जोगाउँदै अघि बढिरहेको छ। कृषि सभ्यता, धार्मिक आस्था, देउडा संस्कृति, खेलकुद र सामाजिक सद्भावलाई एउटै थलोमा समेट्ने यो मेला आज समग्र बाजुराकै गौरव र सांस्कृतिक सम्पदाका रूपमा परिचित बन्दै गएको छ। स्थानीयहरू भन्छन्, “कुलो सोराई मेला एउटा उत्सव मात्र नभएर यो हाम्रो इतिहास, परम्परा, पहिचान र पुस्तौँदेखिको सामुदायिक एकताको जीवित दस्तावेज हो।”पछिल्लो समय युवापुस्ता बाहिरीनाले कतै मेलाको बिरासत हराउँने बुढापाका चिन्ता ब्यक्त गर्छन् ।

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।