
साउन १४
बाजुराको हिमाली गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरण सेवालाई प्रभावकारी र नागरिकमैत्री बनाउन प्रत्येक वडाका टोल–टोल र बस्तीमै पुगेर लाभग्राहीहरूको भत्ता नवीकरण गर्ने अभियान सञ्चालन गरेको छ।
सामान्यतया लाभग्राहीहरू वडा कार्यालयमै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने व्यवस्था भए पनि गाउँपालिकाले दुर्गम भौगोलिक अवस्था, वृद्धवृद्धा तथा अशक्त नागरिकलाई आवतजावतमा हुने कठिनाइलाई मध्यनजर गर्दै घरदैलोमै पुगेर सेवा प्रदान गरेको हो।
यस अभियानबाट विशेषगरी वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति, एकल महिला तथा अन्य सामाजिक सुरक्षा भत्ता लाभग्राहीहरूले सहज रूपमा सेवा पाएका छन्। वडा कार्यालयसम्म पुग्नुपर्ने झन्झट हटेपछि स्थानीयले गाउँपालिकाको यस पहलको प्रशंसा गर्दै सहज सेवाको अनुभूति भएको बताएका छन्।
गाउँपालिकाको पञ्जीकरण शाखाका MIS अपरेटर नन्दराज पाण्डे र फिल्ड सहायक लंकबहादुर कार्की सहितको टोली प्रत्येक वडाका टोल–टोल र बस्तीमा खटिएर सामाजिक सुरक्षा भत्ता नवीकरणको कार्य सम्पन्न गरिरहेको छ।
स्थानीय तथा हिमाली गाउँपालिकाका इलेक्ट्रीसियन प्राविधिक राजबहादुर मलालले नागरिकलाई सहज, छिटो र गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले गाउँपालिकाले यो अभियान सञ्चालन गरेको जानकारी दिनुभयो। दुर्गम बस्तीका नागरिकसम्म प्रत्यक्ष सेवा पुर्याउने यस कार्यले सेवा प्रवाहलाई थप प्रभावकारी बनाएको स्थानीयवासीको भनाइ छ।

