२०८३ मंसिर ७ आईतवार
२०८३ मंसिर ७ आईतवार

एम्बुलेन्स नपाएपछि,बाटोमै छ्टपटाउँदै सुमित्राले छोरालाई जन्म दिईन।

मातृत्व र सुरक्षित सुत्केरीका लागि सरकारले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। जनचेतना अभिवृद्धिका नाममा राजधानी काठमाडौंसहित देशका ठूला सहरमा गोष्ठी, सेमिनार र सचेतनामूलक कार्यक्रम पनि हुने गरेका छन्।

सरकारले सुरक्षित मातृत्व र बालस्वास्थ्यलाई प्राथमिकतामा राख्दै सुनौला हजार दिनको कार्यक्रमसमेत सञ्चालन गरिरहेको छ। तर, यस्ता कार्यक्रमले बाजुराका दुर्गम बस्तीका गर्भवती महिलाको पीडामा भने अपेक्षित परिवर्तन ल्याउन सकेका छैनन्।
दुर्गम क्षेत्रका गर्भवती महिलाले सुत्केरी हुने समयमा अझै ठूलो जोखिम मोल्नुपर्ने बाध्यता छ। जिल्लाका नौ वटै स्थानीय तहका अधिकांश वडामा आधारभूत स्वास्थ्य संस्थाको पहुँच भए पनि बाजुराका आमाले अझै बाटोमै शिशु जन्माउनुपर्ने पीडादायी अवस्था कायमै छ।

यस्तै पीडाको सिकार बनिन् बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–३, जुकोटकी २३ वर्षीया सुमित्रा शाही। उनले अस्पताल पुग्न नपाउँदै बीच बाटोमै शिशुलाई जन्म दिइन्।

शनिबार बिहान करिब ८ बजेतिर सुत्केरी व्यथा सुरु भएपछि परिवारका सदस्यले उनलाई अस्पताल लैजाने तयारी गरे। एम्बुलेन्समार्फत करिब एक घण्टामा कोल्टी अस्पताल पुर्‍याउन सकिने अवस्था थियो। तर, एम्बुलेन्स चालक बाहिर गएको र गाडीसमेत बिग्रिएको जानकारी पाएपछि परिवारका सदस्यले उनलाई बोकेरै अस्पताल लैजाने निर्णय गरे।
‘हामीले पालिकालाई सम्पर्क गरेर एम्बुलेन्स खोज्यौँ, तर पाएनौँ। त्यसपछि स्थानीयले बोकेर अस्पतालसम्म लैजाने प्रयास गरेका हौँ,’ स्थानीय भगिरथजंग शाहीले भने।
गाउँपालिकामा एम्बुलेन्स भए पनि नियमित सञ्चालनमा आउन नसक्दा यस्तो समस्या भएको उनले बताए।

करिब तीन घण्टाको पैदल यात्रापछि सुमित्राले स्वामीकार्तिक खापर गाउँपालिका–४, गोब्रेपाटको सडक छेउमै शिशुलाई जन्म दिइन्। त्यहाँ स्वास्थ्यकर्मीसमेत उपलब्ध थिएनन्। त्यसैले परिवारकै सदस्यले उनको नाभी काटिदिए।
केही समयपछि गाउँका स्थानीय पुगे। उनीहरूले सुत्केरी सुमित्रा र नवजात शिशुलाई स्ट्रेचरमा बोकेर कोल्टी अस्पताल पुर्‍याए। अहिले आमा र शिशु दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको उनका श्रीमान् मनबहादुर शाहीले बताए।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पारसबहादुर शाहीले एम्बुलेन्स बिग्रिने र मर्मतपछि पनि भरपर्दो सेवा दिन नसक्ने समस्या रहेको बताए।
सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सडक सञ्जालसँग अझै जोडिन नसकेको एक मात्र स्थानीय तहका रूपमा चिनिएको स्वामीकार्तिक खापर गाउँपालिकाका नागरिकले सामान्य आवतजावतदेखि स्वास्थ्य उपचारसम्म अनेकौँ समस्या भोग्दै आएका छन्।

जुकोटबाट कोल्टी पुग्न कर्णाली नदी पार गर्नुपर्ने बाध्यता छ। विशेषगरी गर्भवती महिला, सुत्केरी, ज्येष्ठ नागरिक र आकस्मिक बिरामीले समयमै स्वास्थ्य संस्थामा पुग्न नसक्दा ज्यानै जोखिममा पर्ने अवस्था छ।
विकासका ठूला आश्वासनभन्दा अहिले जुकोटका नागरिकलाई सुरक्षित आवतजावत, नियमित एम्बुलेन्स सेवा, भरपर्दो वैकल्पिक यातायात र सहज स्वास्थ्य उपचारको आवश्यकता छ। गर्भवती महिला तथा आकस्मिक बिरामीका लागि तत्कालीन र दीर्घकालीन योजना बनाएर कार्यान्वयन गर्नुपर्ने स्थानीयको माग छ।
रोकिएन बाटोमै सुत्केरी हुने क्रम
स्वामीकार्तिक खापरमा मात्रै होइन, बाजुराका अन्य दुर्गम बस्तीमा पनि बाटोमै सुत्केरी हुने क्रम रोकिएको छैन। नजिकै स्वास्थ्य सुविधा नहुनु, भौगोलिक विकटता र गाउँबस्ती सडक सञ्जालको पहुँचबाट टाढा हुनुका कारण गर्भवती महिलाले स्वास्थ्य संस्था पुग्न नपाउँदै शिशु जन्माउनुपर्ने अवस्था छ।
यसअघि स्वामीकार्तिक खापर गाउँपालिकाकै बाहुनीकी मेनुका विकले पनि बाटोमै छोरीलाई जन्म दिएकी थिइन्। घरमै सुत्केरी व्यथा सुरु भएपछि बिहान साप्पाटा स्वास्थ्य संस्था बर्खुतर्फ लैजाँदै गर्दा स्वास्थ्य संस्था नपुग्दै उनले बीच बाटोमै छोरीलाई जन्म दिएकी थिइन्।
भौगोलिक विकटता र स्रोतसाधनको अभावका कारण यहाँका अधिकांश महिलाले स्वास्थ्य संस्था पुग्न नपाउँदै बाटोमै सुत्केरी हुनुपर्ने बाध्यता भोगिरहेका छन्। गाउँबस्ती दुर्गम हुनु र स्वास्थ्य संस्था टाढा रहनुले मेनुका विकजस्ता धेरै गर्भवती महिला जोखिमपूर्ण अवस्थामा शिशु जन्माउन बाध्य छन्।
साउन १५ गते स्वामीकार्तिक खापर गाउँपालिका–२, उदिनाकी २४ वर्षीया सौरी बुढाले स्वास्थ्य संस्था टाढा हुँदा ओडारमै छोरालाई जन्म दिइन्। साउन १८ गते सोही गाउँपालिका–३, जोरुकी २४ वर्षीया अनिता महताराले पनि बाटोमै शिशुलाई जन्म दिइन्। सुत्केरी व्यथा सुरु भएपछि स्थानीय युवाले उनलाई घरबाट स्ट्रेचरमा बोकेर स्वास्थ्य संस्थातर्फ लैजाँदै गर्दा बीच बाटोमै बच्चा जन्मिएको थियो।
आर्थिक वर्ष २०८३/८४ मा सुमित्रासहित पाँच जना गर्भवती महिलाले बाटोमै शिशु जन्माएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पारसबहादुर शाहीले बताए।
उनका अनुसार स्वामीकार्तिक खापर गाउँपालिकामा हाल तीनवटा स्वास्थ्य चौकी, दुईवटा आधारभूत स्वास्थ्य केन्द्र र पाँचवटा सामुदायिक स्वास्थ्य इकाई गरी १० वटा स्वास्थ्य संस्था सञ्चालनमा छन्। गाउँपालिकामा सातवटा बर्थिङ सेन्टरसमेत छन्। तर, पर्याप्त स्वास्थ्य संस्था र बर्थिङ सेन्टर हुँदाहुँदै पनि बाटोमै सुत्केरी हुने क्रम रोकिएको छैन।
यसअघि जिल्लाको गौमुल गाउँपालिका–५, कोटकी २० वर्षीया कमला बुढाले पनि बाटोमै छोरी जन्माएकी थिइन्। सुत्केरी गराउन उनलाई वडामै रहेको नक्राडा स्वास्थ्य केन्द्रतर्फ लगिँदै थियो। तर, व्यथा चाँडै लाग्नु र स्वास्थ्य संस्था टाढा हुनुका कारण उनले बीच बाटोमै बच्चा जन्माउनुपरेको थियो।
त्यस्तै, बुढीगंगा नगरपालिका–७, सिमलकोटकी सिर्जना केसले पनि बाटोमै शिशु जन्माएकी थिइन्। यसअघि खप्तड छेडेदह गाउँपालिका–४ की २६ वर्षीया कमला बुढीगंगा नगरपालिका–६, फलासैन बजारमाथिको बाटोमा छोरालाई जन्म दिन बाध्य भएकी थिइन्।
बाजुरामा हाल १०३ वटा स्वास्थ्य संस्था सञ्चालनमा छन्। तर, भौगोलिक विकटता, यातायातको असुविधा, एम्बुलेन्सको अभाव र उपलब्ध स्वास्थ्य सेवाको प्रभावकारी सञ्चालन हुन नसक्दा स्थानीयले सास्ती भोग्नुपरेको छ।
स्वास्थ्य संस्था स्थापना गर्नु मात्रै सुरक्षा हुँदैन।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।