
सन्तोष प्रसाद जोशी

बाजुरा। जीवनमा सबैभन्दा ठूलो सहारा आमाबुबा नै हुन्छन्। तर बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–४ फैता गाउँका दुई निर्दोष दिदीबहिनीको भाग्यले त्यो अमूल्य सहारा सानै उमेरमै खोस्यो। बुवाको मृत्युले टुहुरा बनेका उनीहरू आमाले दोस्रो विवाह गरेपछि फेरि आमाको माया र साथबाट पनि टाढिन बाध्य भए। अहिले उनीहरूको बाल्यकाल अभाव, आँसु र एक्लोपनको पर्याय बनेको छ।
२०७५ साल कार्तिकमा बिरेश जोशीको असामयिक निधनसँगै परिवारमाथि दुःखको कालो बादल मडारियो। श्रीमान् गुमाएपछि आमा तारा जोशीले दोस्रो विवाह गरिन्। त्यसपछि एउटै कोखबाट जन्मिएका दुई नानीको जीवन दुई फरक दिशामा बग्न पुग्यो।
१० वर्षीया जेठी छोरी समीता जोशी अहिले बडीमालिका नगरपालिका–७ रजातोलीस्थित मावली घरमा बस्दै आएकी छन्। उनको सहारा बनेकी छन् आँखा नदेख्ने वृद्ध बज्यै बिस्नकला पाध्याय। आफैंलाई हिँडडुल गर्न अरूको सहारा चाहिने अवस्थामा रहेकी ती वृद्धाले नातिनीलाई आफ्नो काखमा राखेर हुर्काइरहेकी छन्।
बज्यैको आवाज सुन्ने जोकोहीको मन भक्कानिन्छ। उनी भन्छिन्, “छोरीकी छोरीलाई आफ्नै सन्तान सम्झेर हुर्काएँ। तर अब आँखा पनि देख्दिनँ। भोलि म रहेँ भने उसलाई कसले पढाउँछ? कसले खुवाउँछ? यही चिन्ताले रातभर निद्रा लाग्दैन।”
उता ८ वर्षीया कान्छी बहिनी सुस्मीता जोशी भने आमाले दोस्रो विवाह गरेको हिमाली गाउँपालिका–६ बोल्डिकमा आमासँग बस्दै आएकी छन्। एउटै आमाको कोखबाट जन्मिएका दिदीबहिनी आज एउटै घरमा बसेर सँगै खेल्न, सँगै पढ्न र सँगै हाँस्न पनि पाएका छैनन्। उनीहरूको बाल्यकाल परिवार विखण्डनको पीडाले टुक्राटुक्रा बनेको छ।
खेल्ने, रमाउने, विद्यालयमा साथीहरूसँग भविष्यका सपना बुन्नुपर्ने उमेरमा यी दुई नानी जीवनको कठोर यथार्थसँग संघर्ष गरिरहेका छन्। बुबाको मायालु हात सधैंका लागि छुट्यो, आमाको काख पनि टाढियो। उनीहरूको अनुहारमा उमेरभन्दा धेरै पीडा देखिन्छ, आँखामा अनगिन्ती प्रश्न छन्—“हाम्रो दोष के थियो?”
स्थानीय आफन्तहरूका अनुसार यी बालिकाको शिक्षा, पालनपोषण, संरक्षण र सुरक्षित भविष्यका लागि सरकारी निकाय, बालअधिकारसँग सम्बन्धित संघसंस्था तथा सहयोगी मन भएका सबैले तत्काल चासो दिनुपर्ने अवस्था छ। उनीहरूलाई उचित संरक्षण र शिक्षाको व्यवस्था हुन सके मात्र उनीहरूको भविष्य उज्यालो बन्न सक्छ।

आज यी दुई निर्दोष बालिकाको आँखामा अझै एउटा सानो आशा बाँकी छ—सायद कसैले उनीहरूको पीडा बुझिदेला, सायद कसैले उनीहरूको टुटेको बाल्यकाललाई फेरि मुस्कानले भरिदेला। किनकि हरेक बालबालिकाले आमाबुबाको माया, सुरक्षित घर र उज्यालो भविष्य पाउने अधिकार राख्छन्। तर यी दुई दिदीबहिनीको जीवन भने आज पनि एउटा प्रश्न बनेर समाजको सामु उभिएको छ।



