
२३ जेठ २०८३

सन्तोष प्रसाद जोशी
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाले स्थानीय कला, संस्कृति तथा परम्परागत बाजा संरक्षण गर्ने उद्देश्यले १ लाख ३० हजार रुपैयाँ बराबरको पञ्चेबाजा वितरण गरेको छ।
गाउँपालिकाको अनुदान तथा पालिका स्तरीय खलिया समाजको नाममा विनियोजित बजेटबाट दमाहा, नरसिंहा, सहनाई लगायतका पञ्चेबाजाका सामग्री खरिद गरी खलिया समाजलाई हस्तान्तरण गरिएको हो।
पालिका स्तरीय खलिया समाजका अध्यक्ष गोर्खे कामीका अनुसार गाउँपालिकाको सहयोगमा आवश्यक पञ्चेबाजाका सामग्री खरिद गरी समुदायको हितका लागि उपलब्ध गराइएको हो।
खलिया समाज, स्वामीकार्तिक खापर गाउँपालिकाका सचिव धन दमाईले गाउँपालिकाभित्र जुनसुकै स्थानमा धार्मिक, सामाजिक तथा सांस्कृतिक कार्यक्रम आयोजना हुँदा यी पञ्चेबाजा आवश्यकताअनुसार प्रयोग गरिने बताउनुभयो। यसबाट समुदायमा एकता बढ्नुका साथै मौलिक संस्कृतिको संरक्षणमा समेत टेवा पुग्ने उहाँको भनाइ छ।
गाउँपालिकाले स्थानीय संस्कार, संस्कृति र मौलिक पहिचान जोगाउने उद्देश्यले हरेक वर्ष यस्ता कार्यक्रमका लागि बजेट व्यवस्थापन गर्दै आएको जनाएको छ। पञ्चेबाजा वितरणसँगै परम्परागत बाजा संरक्षण, नयाँ पुस्तामा यसको हस्तान्तरण तथा सांस्कृतिक सम्पदाको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।




