२०८३ श्रावण १० आईतवार
२०८३ श्रावण १० आईतवार

स्वर्गीय मैना जोशी स्मृति सम्मान–२०८३ स्थापना, उत्कृष्ट व्यक्तित्वहरू सम्मानित

२०८३ जेठ २२

सन्तोष प्रसाद जोशी

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाले दिवंगत पूर्व उपाध्यक्ष स्वर्गीय मैना जोशीको योगदानको सम्मानस्वरूप ‘स्वर्गीय मैना जोशी स्मृति सम्मान–२०८३’ स्थापना गरेको छ। गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, सामाजिक सेवा, सुशासन तथा स्थानीय विकासलगायत विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्ति तथा संस्थालाई हरेक वर्ष सम्मान गर्ने उद्देश्यका साथ यो सम्मानको सुरुवात गरेको हो।

सोमबार दिउँसो एक कार्यक्रमका बीच उक्त कार्यक्रम गरिएको छ।गाउँपालिकाका सूचना अधिकारी कुमेर बहादुर शाहीका अनुसार स्वर्गीय मैना जोशीको नाममा अक्षय कोष स्थापना गरी स्मृति सम्मान सञ्चालन गरिएको हो। उहाँको जीवन र योगदानलाई संस्थागत रूपमा संरक्षण तथा प्रवर्द्धन गर्न प्रतिष्ठान स्थापना गरी सम्बन्धित निकायमा दर्ता गर्ने प्रक्रिया समेत अघि बढाइएको गाउँपालिका अध्यक्ष भरत बहादुर रोकायाले जानकारी दिनुभयो।

स्वर्गीय मैना जोशी २०७९ सालको स्थानीय तह निर्वाचनबाट स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो। जनप्रतिनिधिका रूपमा उहाँले महिला सशक्तीकरण, सामाजिक विकास, शिक्षा, सुशासन तथा जनसेवाका क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउनुभएको थियो। उहाँको २०८० साल माघ ४ गते क्यान्सर रोगका कारण निधन भएको थियो। उहाँको जन्म स्वामीकार्तिक खापर गाउँपालिका–३, जुकोटमा भएको थियो।

गाउँपालिका अध्यक्ष रोकायाले स्वर्गीय जोशीको सेवा, समर्पण र इमान्दारितालाई भावी पुस्ताका लागि प्रेरणाको स्रोत बनाउने उद्देश्यले स्मृति सम्मान स्थापना गरिएको बताउनुभयो। उहाँले आगामी वर्षहरूमा यस सम्मानलाई जिल्लाकै प्रतिष्ठित सम्मानका रूपमा विकास गर्ने लक्ष्य रहेको पनि उल्लेख गर्नुभयो।

यस वर्षको स्वर्गीय मैना जोशी स्मृति सम्मान–२०८३ अन्तर्गत गाउँपालिकामा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै लेखा अधिकृत दिलिप कुमार शाही तथा स्वामीकार्तिक माध्यमिक विद्यालय, वाईमा कार्यरत शिक्षक हिक्मत बहादुर थापालाई नगद पुरस्कार, सम्मानपत्र र दोसल्लासहित सम्मान गरिएको छ।

सम्मान समारोहका प्रमुख अतिथि राम बहादुर बोहरा, बुढीनन्दा नगरपालिकाका उपप्रमुख रहनुभएको थियो। विशेष अतिथिका रूपमा स्वामीकार्तिक खापर गाउँपालिकाका तत्कालीन अध्यक्ष चिरञ्जीवी शाही सहभागी हुनुभएको थियो। कार्यक्रमको सञ्चालन शिक्षक नहकुल जोशीले गर्नुभएको थियो।

कार्यक्रममा वक्ताहरूले स्वर्गीय मैना जोशीले छोटो समयमै जनप्रतिनिधिका रूपमा पुर्‍याएको योगदानलाई स्मरण गर्दै उहाँको नाममा स्थापना गरिएको सम्मानले समाजमा उत्कृष्ट काम गर्ने व्यक्तिहरूलाई थप प्रेरणा दिने विश्वास व्यक्त गरे। उनीहरूले असल कामको सम्मान गर्ने संस्कृतिले समाजमा सकारात्मक परिवर्तन ल्याउने र नयाँ पुस्तालाई सेवा र समर्पणको बाटोमा अघि बढ्न उत्प्रेरित गर्ने धारणा राखेका थिए।

“असल कामको सम्मान, प्रेरणाको अभियान — स्वर्गीय मैना जोशी स्मृति सम्मान–२०८३” भन्ने मूल नारासहित सुरु गरिएको यो अभियानले स्वर्गीय मैना जोशीको योगदानलाई चिरस्थायी बनाउँदै समाजमा उत्कृष्ट कार्यको सम्मान गर्ने संस्कृतिलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।