२०८३ जेष्ठ १६ शनिबार
२०८३ जेष्ठ १६ शनिबार

अविरल वर्षाले बाजुरामा ठूलो क्षति कोल्टी–पिलुपादुका सडक अवरुद्ध, बस्ती र खेतबारी जोखिममा

बिहीबार साँझ परेको अविरल वर्षाले बाजुराका विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। एकैछिन लगातार परेको भारी वर्षाका कारण विशेषगरी कोल्टी आसपासका बस्ती, सडक तथा खेतीयोग्य जमिनमा व्यापक असर परेको स्थानीयले बताएका छन्।
वर्षापछि कोल्टी बजारदेखि पिलुपादुका धामसम्मको सडक पूर्ण रूपमा अवरुद्ध बनेको छ। सडक माथिबाट पहिरो झर्नुका साथै ठाउँ–ठाउँमा सडक कटान भएपछि यातायात सेवा ठप्प भएको हो। सडक अवरुद्ध भएसँगै बिहानदेखि कोल्टी–पिलुचौर चल्ने यातायातका साधन मटेलामा रोकिएका छन्। यात्रुहरू बाटोमै अलपत्र परेका छन् भने दैनिक उपभोग्य सामग्री ढुवानीमा समेत समस्या उत्पन्न भएको छ।
विशेषगरी कोल्टी आसपासका क्षेत्रमा वर्षाले निकै ठूलो असर पारेको स्थानीयको भनाइ छ। खेतबारीमा बगेको भेलले धेरै ठाउँमा बगर बनाएको छ भने कतिपय स्थानमा खेतीयोग्य जमिन नै कटान भएको छ।
त्यसैगरी बुढीनन्दा नगरपालिका वडा नं. १ अन्तर्गत हरिकवल, पार्तोला र मटेला क्षेत्र तथा वडा नं. ६ को लाटोबस्ती र साउने गाउँमा वर्षापछि बाढी र पहिरोको जोखिम बढेको छ। ती क्षेत्रमा रहेका खेतहरूमा गेग्रान, माटो र ढुंगामुढा भरिएपछि किसान चिन्तित बनेका छन्। वर्षौंदेखि मेहनत गरेर लगाइएको अन्नबालीमा समेत क्षति पुगेको स्थानीयले बताएका छन्।मानवीय क्षति भने भएको छैन ।
अविरल वर्षाका कारण केही घरहरू उच्च जोखिममा परेका छन्। बस्ती नजिकैबाट भेल बग्न थालेपछि स्थानीय रातभर त्रासमा बसेका थिए। वर्षा निरन्तर भइरहे थप क्षति हुन सक्ने भन्दै स्थानीयले तत्काल जोखिम नियन्त्रण र राहतको माग गरेका छन्।
उक्त क्षेत्रको क्षतिको विवरण संकलन गर्न इलाका प्रहरी कार्यालय कोल्टी को टोली स्थलगत अनुगमनमा खटिएको छ। प्रहरीसहित स्थानीय जनप्रतिनिधि र सरोकारवाला निकायले प्रभावित क्षेत्रको निरीक्षण गरिरहेका छन्।
यता अवरुद्ध सडक खुलाउन बुढीनन्दा नगरपालिका ले डोजर परिचालन गरेको जनाएको छ। नगर प्रमुख जनक कुमार बोहरा ले वर्षाका कारण विभिन्न ठाउँमा सडक अवरुद्ध भएको र तत्काल सडक सञ्चालनमा ल्याउन नगरपालिका सक्रिय रूपमा लागिपरेको जानकारी दिनुभयो।
उहाँले जोखिममा रहेका बस्तीका नागरिकलाई सतर्क रहन आग्रह गर्दै आवश्यक परे सुरक्षित स्थानतर्फ जान समेत अनुरोध गर्नुभएको छ। स्थानीयवासीले भने वर्षा सुरु भएसँगै हरेक वर्ष यस्तै समस्या दोहोरिने गरेको भन्दै दीर्घकालीन समाधानको माग गरेका छन्।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।