२०८३ जेष्ठ १६ शनिबार
२०८३ जेष्ठ १६ शनिबार

वर्षापछि बाढीपहिरोले ठूलो क्षति, सयौं रोपनी जमिन बगरमा परिणत हरिकवलको बस्ती उच्च जोखिममा

बिहीबार परेको अविरल वर्षासँगै आएको असिनापानी तथा बाढीपहिरोले बाजुराको उत्तरी भेगमा ठूलो क्षति पुर्‍याएको छ । बाढीपहिरोबाट बुढीनन्दा नगरपालिका र जगन्नाथ गाउँपालिकाका विभिन्न बस्ती तथा खेतीयोग्य जमिन प्रभावित भएका छन् ।
बिहीबार दिउँसो करिब ३ बजेदेखि ४ बजेको बीचमा परेको भीषण वर्षासँगै आएको बाढीपहिरोले सयौं रोपनी खेतीयोग्य जमिन बगाएर बगरमा परिणत गरेको स्थानीयले बताएका छन् । बाढीपहिरोका कारण सयौं घरपरिवार जोखिममा परेका छन् भने खानेपानी, विद्युत, सिंचाइ कुलो तथा बाटोघाटोमा समेत पूर्ण क्षति पुगेको छ ।
क्षतिपछि बुढीनन्दा नगरपालिकाका प्रवक्ता तथा वडा नं. ३ का वडा अध्यक्ष जंगवीर रोकाया, वडा नं. १ का वडा अध्यक्ष मानबहादुर कार्की, कार्यपालिका सदस्य हिक्मत वड, सदस्य वीरबहादुर कार्की, रेडियो शिम्भुनाथका अध्यक्ष सर्पलाल गिरी, गगनवाणीका सञ्चालक गगन ऐडी, इलाका प्रहरी कार्यालय कोल्टीका सुरक्षाकर्मी, समाजसेवी रामलाल कार्की तथा नागरिक अगुवाको टोलीले प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेको छ ।
टोलीले बुढीनन्दा नगरपालिका वडा नं. १ र ६ मा पुगेर क्षतिको विवरण संकलन गर्दै मुचुल्का तयार गर्न सुरक्षा निकायलाई आग्रह गरेको जनाएको छ ।
बुढीनन्दा नगरपालिका वडा नं. १ अन्तर्गत साउनेगाउँ, हरिकवल, मटेला र पार्तोला बस्ती उच्च जोखिममा परेका छन् । स्थानीयका अनुसार साउनेगाउँका करिब ५० घरपरिवार र हरिकवलका २९ घरपरिवारलाई तत्काल स्थानान्तरण गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।
बाढीपहिरोबाट बुढीनन्दा नगरपालिका वडा नं. १ का साउनेगाउँ, हरिकवल, मटेला, पार्तोला, भारतीकौषाडी, वडा नं. ६ का दैयाँ, लाटुबस्ती, खारगाड तथा जगन्नाथ गाउँपालिका–१ पिलुचौर क्षेत्रमा ठूलो क्षति पुगेको बताइएको छ । प्रारम्भिक विवरणअनुसार करिब पाँच सय रोपनी खेतीयोग्य जमिनमा क्षति पुगेको छ भने करिब २०० घर जोखिममा परेका छन् । तीमध्ये ८० घर उच्च जोखिममा रहेको स्थानीयले बताएका छन् । बाढीपहिरोमा पशुपक्षी तथा चौपाया समेत मरेका छन् ।
स्थानीयका घरमा वर्षाको पानी पसेर डुबान भएको छ । बस्ती चारैतिरबाट बाढी र पहिरोले घेरेपछि त्रासपूर्ण अवस्था सिर्जना भएको स्थानीयवासीको भनाइ छ ।
स्थानीयले तत्काल राहत प्याकेजको व्यवस्था गर्न तथा दीर्घकालीन रूपमा सुरक्षित स्थानमा बस्ती स्थानान्तरण र पुनर्स्थापनाको माग गरेका छन् । साना बजेटबाट खानेपानी, सिंचाइ, बाटोघाटो लगायतका संरचना पुनर्निर्माण गर्न सम्भव नभएको भन्दै उनीहरूले प्रदेश र संघीय सरकारको ध्यानाकर्षण गराएका छन् ।
“खेतीयोग्य जमिन बगरमा परिणत भयो । खानेपानी, कुलो, बाटोघाटो सबै बग्यो । अब के खाने र कसरी बस्ने भन्ने चिन्ता भएको छ,” स्थानीयवासीले गुनासो गरे ।
स्थानीय, प्रदेश र संघीय सरकारसँगै जनप्रतिनिधि, सहयोगी दाता निकाय तथा सरोकारवाला पक्षलाई प्रभावित बस्तीको तत्काल उद्धार, राहत र दीर्घकालीन व्यवस्थापनमा सहयोग गर्न स्थानीयले आग्रह गरेका छन् ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।