
बाजुरा, असार २५ – हिमाली गाउँपालिकाको केन्द्र धुलाचौरमा अन्तरनेशनल नेपाल फेलोसिप (INF) नेपालको आयोजनामा परियोजना सल्लाहकार समिति बैठक तथा सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न भएको छ।मंगलबार दिउँसो एक कार्यक्रमका बिच उक्त कार्यक्रम समपन्न भएको हो।
कार्यक्रममा गाउँपालिका तथा स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सञ्चालित परियोजनाका गतिविधि, उपलब्धि, चुनौती तथा आगामी कार्ययोजनाबारे विस्तृत छलफल गरिएको थियो।

साथै परियोजनाको पारदर्शिता, जवाफदेहिता तथा प्रभावकारितालाई थप सुदृढ बनाउन सामाजिक लेखा परीक्षण समेत गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा सहभागीहरूले परियोजनाबाट समुदायमा परेको सकारात्मक प्रभावका बारेमा धारणा राख्दै आगामी दिनमा अझ प्रभावकारी ढंगले कार्यक्रम सञ्चालन गर्न सुझाव दिएका थिए। स्थानीय तह, समुदाय तथा साझेदार संस्थाबीच समन्वय र सहकार्यलाई थप मजबुत बनाउने विषयमा समेत छलफल भएको थियो।
सामाजिक लेखा परीक्षणमार्फत परियोजनाको आय–व्यय, कार्यक्रम कार्यान्वयनको अवस्था तथा लक्षित वर्गमा पुगेको सेवाको प्रभावबारे जानकारी सार्वजनिक गरिएको थियो। सहभागीहरूले खुला रूपमा जिज्ञासा तथा सुझाव प्रस्तुत गरेका थिए।
उक्त कार्यक्रम हिमाली गाउँपालिका धुलाचौरमा सञ्चालन भइरहेको उत्थानशीलता, समावेशी, दिगो विकास र सशक्तीकरण (RISE) परियोजनाअन्तर्गत आयोजना गरिएको हो। कार्यक्रमले स्थानीय समुदायको सहभागिता बढाउँदै विकासका गतिविधिलाई थप पारदर्शी र उत्तरदायी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।


