
बाजुरा, असार १५ — बाजुराको जगन्नाथ गाउँपालिकाले २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८३ भव्य रूपमा मनाएको छ। “जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि” भन्ने राष्ट्रिय नाराका साथ गाउँपालिका अन्तर्गत जुड्डी जिउलामा विशेष कार्यक्रम आयोजना गरी सामूहिक रूपमा धान रोपाइँ गरिएको हो।
आज असार १५ अर्थात् “मानो रोपेर मुरी उब्जाउने” दिनका रूपमा परिचित छ। किसानका लागि यो दिन विशेष महत्व बोकेको दिन हो। असार १५ मा धान रोपाइँ सम्पन्न गरेपछि दही–चिउरा खाने परम्पराले नेपाली कृषि संस्कृतिलाई झल्काउने गरेको छ।
कृषिमा बढ्दो परनिर्भरता घटाई धान उत्पादन र उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले नेपाल सरकारले २०६१ सालदेखि प्रत्येक वर्ष असार १५ गते राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउँदै आएको छ। यस वर्ष देशभर २३औँ राष्ट्रिय धान दिवस विविध कार्यक्रमका साथ मनाइएको हो।
जगन्नाथ गाउँपालिकाको कृषि शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि, गाउँपालिकाका कर्मचारी, कृषक, स्थानीयवासी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले सामूहिक रूपमा धान रोप्दै कृषि पेशाप्रति सम्मान व्यक्त गरेका थिए।
गाउँपालिकाका कृषि शाखा प्रमुख निरेश कटेलका अनुसार यस वर्षको धान दिवस तथा रोपाइँ महोत्सवको मुख्य कार्यक्रम गाउँपालिका अन्तर्गतको जुड्डी जिउलामा आयोजना गरिएको हो। कार्यक्रममा जलवायुमैत्री कृषि प्रविधिको प्रयोग, धान उत्पादन वृद्धि र कृषि क्षेत्रमा आत्मनिर्भरता हासिल गर्ने विषयमा समेत जोड दिइएको उहाँले बताउनुभयो।
गाउँपालिकाका सूचना अधिकारी राजेन्द्र प्रसाद जोशीले धान दिवसले कृषिप्रति युवाको आकर्षण बढाउने, किसानलाई प्रोत्साहन गर्ने तथा परम्परागत कृषि संस्कृतिको संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार गाउँपालिकाले आगामी दिनमा पनि कृषि उत्पादन वृद्धि र किसानमुखी कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउनेछ।





